दाङ । दाङमा प्रहरीले ठुलो परिमाणमा लागुऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ३५ किलोग्राम लागुऔषध चरेससहित रुकुम पूर्वको भूमे गाउँपालिका–२ का करिब २६ वर्षीय हिक्मत पुनलाई पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोस्ट कालाकाटेबाट खटिएको प्रहरी टोलीले गढवा गाउँपालिका–१ जुरौनीस्थित पूर्व(पश्चिम राजमार्गमा सवारी साधन जाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषध बरामद गरेको हो ।
प्रहरीका अनुसार बुटवलबाट नेपालगञ्जतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०८३७ नम्बरको विद्युतीय हाइसको पछिल्लो सिटमा राखिएका दुई वटा कालो झोला र एउटा निलो रङको सुटकेस जाँच गर्दा चरेसजस्तो देखिने कालो पदार्थ फेला परेको थियो ।
जाँचका क्रममा सोही स्थानमा रहेका एक जना पुरुष भागेको प्रहरीले जनाएको छ। उनको पहिचान खुल्न सकेको छैन । घटनापछि उक्त झोला र सुटकेस आफ्नो भएको दाबी गर्ने २६ वर्षीय पुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बरामद लागु औषधसहित पुनलाई नियन्त्रणमा राखी घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले फरार भएका व्यक्तिको खोजी तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे समेत अनुसन्धान अघि बढाएको छ ।













