दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ रक्षाचौरमा रहेको राप्ती आँखा अस्पतालको शल्यक्रिया भवन निर्माण गरिएको छ । अत्याधुनिक भवनको बिहिबार एक समारोहकाबिच उद्घाटन गरिएको हो ।
भारत सरकारको आर्थिक अनुदानमा निर्मित भवनको उद्घाटन भारतीय राजदूतावास, काठमाडौंका काउन्सिलर गीतांजली ब्रैंडन र तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख टिकाराम खड्काले संयुक्तरुपमा गर्नुभएको हो ।
भवन भारतीय राजदूतावासको आर्थिक सहयोगमा तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको लागत साझेदारीमा चार करोड २४ लाखमा ३८ हजार रुपैया र आन्तरिक थप १ करोड गरी पाँच करोड २४ लाख ३४ हजारमा निर्माण भएको हो । दुई तलाको भवनमा २० वटा कोठाहरु रहेका छन् । आधुनिक भवन निर्माणसंगै सेवा प्रवाहमा सहजता आउने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रिय महासचिव भरतबहादुर चन्द, लुम्विनी प्रदेश सभाका पूर्व सदस्य शंकर गिरी, राप्ती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र लामिछाने र नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष नारायणी रजौरेले शल्यक्रिया भवन निर्माणसंगै सेवाप्रवाहमा सहजता हुने विश्वास व्यक्त गर्नुभयो । त्यस अवसरमा भवन निर्माण उपसमिति र सहयोग गर्ने प्राविधिकलाई सम्मान गरिएको थियो ।
नेपाल नेत्रजयोति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख सम्शेर थापाले भवन निर्माण संगै आँखा स्वास्थ्यको विकास विस्तार र हाल सम्म दिएको सेवाको विषयमा जानकारी गराउनुभएको थियो ।
नेपाल नेत्रजयोति संघ दाङ शाखाका उपसभापति रेशमबहादुर खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण नेपाल नेत्रज्योति संघ दाङका सहसचिव प्रणवकुमार खड्का र अस्पतालका सूचना अधिकारी बालाराम खड्काले गर्नुभएको हो ।













