नेपाली कांग्रेसभित्र यतिबेला विरासतकै कारण, वा बी.पी. कोइरालाका छोरा अथवा कोइराला परिवारको सदस्य भएकै भरमा नयाँ पार्टी चल्छ वा चलाउन सकिन्छ भन्ने सोच गलत हो।
इतिहास साक्षी छ। नेपाली कांग्रेसका संस्थापक सभापति बी.पी. कोइरालाका सहोदर दाजु मातृका प्रसाद कोइरालाले नेपाल प्रजा परिषद् र जनता कांग्रेस नामका नयाँ पार्टी गठन गरे पनि ती पार्टीले न त दीर्घकालीन अस्तित्व कायम राख्न सके, न समाजमा प्रभाव जमाउन सके।
संगठन विचार, निष्ठा, आदर्श र सिद्धान्तमा आधारित हुन्छ। संगठनभन्दा माथि कुनै पनि व्यक्ति हुँदैन। बी.पी. कै छोरा भएकै भरमा कार्यकर्ता पछि लाग्छन् र पार्टी चल्छ भन्ने सोच यथार्थपरक होइन। कांग्रेस चारतारा, रुख चुनाव चिह्न, विचार र निष्ठामा टिकेको संगठन हो।
आजको नेपाली कांग्रेसको अवस्था फरक छ। कसैलाई कारबाही गरेर निष्कासन गरिएको छैन। संगठनमा नेतृत्व लिन, प्रतिस्पर्धा गर्न वा संगठन विस्तार गर्न कसैले रोकेको छैन। वैधानिक सभापति गगन थापाको नेतृत्वमा रहेको कांग्रेसले उनीहरूलाई १५ औँ महाधिवेशनको खुला, लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन र विचारको राजनीति गर्न निरन्तर आह्वान गरिरहेको छ।
यस्तो अनुकूल र वैधानिक आधार हुँदाहुँदै पनि पद गुमाएपछि छटपटिएकाहरूको पछि लाग्ने, लहैलहैमा लागेर पार्टी छाड्ने र विद्रोहको बाटो रोज्ने हो भने त्यसको दोष अरूलाई दिन मिल्दैन।
आफ्नै बुबाले रगत-पसिना बगाएर निर्माण गरेको लोकतन्त्र र कांग्रेसरूपी बलियो घर छाडेर आफ्नै खुट्टामा बन्चरो हान्नेहरूका लागि अरूलाई दोष दिनु लाचारी मात्र हो। इतिहासले पटक-पटक यही कुरा प्रमाणित गरिसकेको छ।
नेपाली कांग्रेस चारतारा, रुख चुनाव चिह्न, विचार र निष्ठावान कार्यकर्ताको जगमा चल्ने पार्टी हो, कुनै खास वंश वा थरको भरमा होइन। इतिहासमा महानायकहरूले समेत कांग्रेस बाहिर गएर वैकल्पिक पार्टीलाई सफल बनाउन सकेनन् भने आज राजनीतिक रूपमा कमजोर भइसकेका र अरूको गोटी बनेकाहरूले नयाँ पार्टी चलाउने दाबी गर्नु आत्मरतिको अभिव्यक्ति र राजनीतिक अवसानको सुरुआत मात्र हुनेछ।





















