दाङ । जिल्ला प्रशासन कार्यालय दाङले पहुँच र चिनजानका आधारमा एलपी ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने, लुकाउने तथा बढी मूल्य असुल गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
कार्यालयले आज (बिहिबार) एक सार्वजनिक सूचना जारी गर्दै दाङ जिल्लाभित्र भेरी, राप्ती, मनकामना लगायतका ग्यास सिलिन्डर बिक्री गर्ने व्यवसायी/डिपो, पसल वा कम्पनीहरूले उद्योगबाट ग्यास ल्याएर सर्वसाधारणलाई बिक्री गर्नुको सट्टा पहुँचका आधारमा निकट व्यक्ति, होटेल तथा व्यवसायीलाई मात्र बिक्री–वितरण गर्ने गरेको गुनासो प्राप्त भएको जनाएको छ ।
प्रशासकिय अधिकृत बिजय गौतमद्वारा हस्तक्षरित विज्ञप्तीमा प्रशासनबाट नियमित अनुगमन भइरहेको जानकारी दिँदै प्रशासनले कानुनविपरीत लुकाई राख्ने, बढी मूल्यमा बिक्री गर्ने वा पहुँचका आधारमा वितरण गरेमा हदैसम्मको कारबाहीका साथै ग्यास सिलिन्डरसमेत जफत गरिने स्पष्ट पारेको छ । स्थानीय तहहरूलाई पनि आ–आफ्नो स्तरबाट आवश्यक अनुगमन र व्यवस्थापन गर्न आग्रह गरिएको छ ।
यस्तै अति आवश्यक परेको अवस्थामा ग्यास सहज उपलब्ध गराउनका लागि प्रशासनले विशेष सम्पर्क नम्बरहरू समेत सार्वजनिक गरेको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विद्यार्थीहरूले ग्यासका लागि ९८५७८२२७८५ र ९८५७८२२९४४ मा सम्पर्क गर्न सक्नेछन् ।





















