२०८३ भाद्र ८ गते सोमवार

साढे ४ करोड लगानीमा तीनवटा मोटरेवल पुल निर्माण

दाङ। रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले आफ्नै लगानीमा तीनवटा मोटरेवल पुल निर्माण गरेको छ । करिब साढे ४ करोड लगानीमा विभिन्न तीन स्थानमा पुल बनाइएपछि आवत–जावतमा सहजता भएको छ ।

गाउँकार्यपालिकाद्वारा अघिल्लो आर्थिक वर्ष २०८२/०८३ को स्विकृत वार्षिक बजेट तथा कार्यक्रमबाट बेली ब्रिज बनाएर संचालनमा ल्याइएको हो । वडा नं ११ सेरा र वडा नं १० तक लाई जोड्न उत्तरगंगा नदीमाथि बनेको २७ मिटर लामो मोटरेवल पुलले सदरमुकामतर्फबाट आउने सडकलाई पालिका केन्द्रसँगै र यसमाथि रहेका ९ वटा वडालाई जोडेको छ ।

त्यस्तै वडा नं ६ डिम्मुगैरा र वडा नं ९ खारबाङ जोड्न सानीभेरी नदीमाथि ३० मिटर लामो तथा सानीभेरी नदीमै वडा नं ५ हुकाम र वडा नं १ मैकोट जोड्न २७ मिटर लामो बेली ब्रिज निर्माणको काम पनि सम्पन्न गरिएको पालिका अध्यक्ष पुनीराज घर्तीले जानकारी दिनुभयो ।

एउटा पुल बनाउन १ करोड ५० लाख रुपैयाँ पालिकाले लगानी गरेको बताउँदै अध्यक्ष घर्तीले तीनवटा पुल बनाउनका लागि ४ करोड ५० लाख खर्च भएको बताउनुभयो । पुल बनेर संचालनमा आएपछि यात्रा सहज र सुरक्षित भएको भन्दै स्वास्थ्यकर्मी पाना पुनले गाउँपालिकालाई धन्यवाद दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस