दाङ । रगतको अभावका कारण उपचारका क्रममा धेरै बिरामीले समस्या भोग्नुपर्ने अवस्था सबैलाई थाहा नै छ । यसै कुरालाई मध्यनजर गर्दै रेडियो हाम्रो पहुँचको १७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम भयो । त्यसअबसरमा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका सल्लाहकार ६३ वर्षीय ज्येष्ठ नागरिक भरत भण्डारीले रक्तदान गरेर कार्यक्रमको सुरुवात गर्नुभएको छ ।

उमेरले ६ दशक पार गरिसक्दा पनि सामाजिक सेवाप्रतिको उहाँको सक्रियता र रक्तदानप्रतिको उत्साहले कार्यक्रममा सहभागी अन्य रक्तदातालाई समेत प्रेरणा दिएको मिल्यो । रेडियो हाम्रो पहुँचले आफ्नो स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नगरी मानवीय सेवासँग जोड्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
रक्तदानलाई जीवनदानसँग जोडेर हेरिन्छ, किनकि दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न रोगको उपचारका क्रममा बिरामीलाई रगत आवश्यक पर्ने गर्छ । आवश्यक समयमा रगत उपलब्ध हुन नसक्दा बिरामीको उपचारमा कठिनाइ हुने भएकाले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नु सामाजिक उत्तरदायित्वसमेत हो ।

कार्यक्रममा डेरी विभागका प्रमुख शिवलाल पौडेल र डेरी सञ्चालन उपसमितिका सदस्य दुर्गाप्रसाद जैसीले पनि रक्तदान गर्नुभएको छ ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका–७ का वडा सदस्य शोभाराम भण्डारीसहित संस्थाका कर्मचारी गीता भण्डारी, खिमा भण्डारी, नारायण भण्डारी, पूर्णबहादुर चौधरी, गौरव चौधरी, एकराज भण्डारी, श्रीराम चौधरी, सुशीला जैसी, हरिप्रसाद चौधरी, सपना अधिकारी, तुलसीराम भण्डारी, सागर चौधरी र समिता केसीले रक्तदान गर्नुभएको छ । स्थापना दिवसको अवसरमा १७ जनाले रक्तदान गरेका हुन् ।
रक्तदानले अरूको जीवन बचाउन सहयोग पुर्याउने मात्र होइन, नियमित स्वास्थ्य जाँच र जिम्मेवार सामाजिक सहभागिताको अवसर पनि प्रदान गर्छ । रक्तदानअघि स्वास्थ्यकर्मीले रक्तदाताको स्वास्थ्य अवस्था जाँच गर्ने भएकाले रक्तदान योग्य व्यक्तिलाई मात्रै रगत दिन अनुमति दिइन्छ । शरीरले रक्तदानपछि रगतका विभिन्न तत्वहरू पुनः निर्माण गर्दै जाने भएकाले स्वस्थ र योग्य व्यक्तिले स्वास्थ्यकर्मीको सल्लाहअनुसार रक्तदान गर्न सक्छन् ।

रेडियो हाम्रो पहुँचको १७औँ स्थापना दिवसमा आयोजित यो कार्यक्रमले सञ्चार संस्था केवल सूचना प्रवाह गर्ने माध्यम मात्र नभई समाजप्रतिको जिम्मेवारी पूरा गर्ने सामाजिक संस्थासमेत हो भन्ने सन्देश दिएको सहभागीहरूको भनाइ छ । स्थापना दिवसको खुसीलाई मानवीय सेवासँग जोड्दै गरिएको रक्तदानबाट संकलित रगत आवश्यक परेका बिरामीको उपचारमा उपयोगी हुने अपेक्षा गरिएको छ ।
रेडियो हाम्रो पहुँचले स्थापना दिवसको अवसरमा समुदायसँग जोडिएका विभिन्न सामाजिक तथा सेवामूलक गतिविधिलाई निरन्तरता दिँदै आएको छ । यस वर्ष ६३ वर्षीय ज्येष्ठ नागरिक भरत भण्डारीबाट रक्तदानको सुरुवात हुनु र १७ जनाको सहभागिता रहनुले सामाजिक सेवामा उमेरभन्दा इच्छाशक्ति र मानवीय भावना महत्वपूर्ण हुने सन्देश दिएको छ ।

























