दाङ । कक्षाकोठाको सैद्धान्तिक सिकाइलाई व्यवहारमा उतार्न तुलसीपुरस्थित हाम्रो पहुँच माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीहरूलाई सम्बन्धित क्षेत्रमै लगेर प्रयोगात्मक अभ्यास गराएको छ ।
विद्यालयको कक्षा ११ मा होटेल म्यानेजमेन्ट संकायमा अध्ययनरत ५७ जना विद्यार्थीहरूले नेपालगञ्जस्थित प्रतिष्ठित पाँच तारे होटेल ‘होटेल सोल्टी’ मा पुगेर दुई दिने प्रत्यक्ष सिकाइ अनुभव हासिल गरेका छन् ।

शुक्रबार र शनिबार सञ्चालित उक्त अध्ययन अवलोकन तथा तालिम कार्यक्रममा विद्यार्थीहरूले होटेल सोल्टीका विज्ञ प्रशिक्षकहरूबाट आतिथ्य सत्कारदेखि समग्र होटेल व्यवस्थापनका विविध पक्षबारे व्यवहारिक ज्ञान लिएका छन् ।
दुई दिनको अवधिमा विद्यार्थीहरूले फ्रन्ट अफिसमा ग्राहकको स्वागत र बुकिङ व्यवस्थापन, हाउसकिपिङ, खाना पस्कने तरिका र क्याटरिङ व्यवस्थापनका व्यवहारिक कुराहरू सिकेका छन् ।
विद्यार्थीले नेतृत्व विकास, समस्या समाधान, समय व्यवस्थापन, व्यक्तिगत पहिरन तथा बहुसांस्कृतिक समझदारीका विषयमा समेत प्रत्यक्ष ज्ञान प्राप्त गरेका छन् ।

होटेल क्षेत्रमा स्वदेश तथा विदेशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न प्रयोगात्मक कक्षामा विशेष जोड दिइएको विद्यालयका प्रधानाध्यापक शिव पुनले बताउनुभयो । कक्षाकोठाको सैद्धान्तिक सिकाइभन्दा सम्बन्धित स्थानमै पुग्दा विद्यार्थीले प्रत्यक्षरुपमा सिक्ने मौका पाएको उहाँको भनाइ छ ।
त्यस्तै विद्यालयका होटेल व्यवस्थापन संकायका शिक्षक कमल पन्थीले पाँच तारे होटेलको अध्ययन, अवलोकन र विज्ञको तालिमबाट विद्यार्थीहरूले व्यावसायिक व्यवस्थापनका बहुआयमिक पक्षहरू बुझ्ने अवसर पाएको बताउनुभयो ।

होेटेल सोल्टीमा क्लष्टर म्यानेजर अग्मीमित्र शर्मा, सेल्स तथा मार्केटिङ म्यानेजर प्रतिक श्रेष्ठ र आकाश नाग, हेड चिफ भास्कर बिके, एचआर म्यानेजर खुम्बजंग नापित, फुड एण्ड विभरेज म्यानेजर अबु नापित, फ्रन्ट अफिस म्यानेजर बिपुल महतो र हाउसकिपिङ म्यानेजर मुना चन्द लगायतले प्रशिक्षण गर्नुभएको हो ।
पाँच तारे होटेलमै पुगेर विज्ञहरूबाट प्रत्यक्ष सिक्न पाउँदा धेरै कुरा व्यवहारिक रूपमा जान्ने मौका मिलेको भन्दै सहभागी विद्यार्थीहरूले पनि उत्साह व्यक्त गरेका छन् ।






















