दाङ। रोल्पाका दुर्गम बस्तीमा टेलिफोनको टावर भए पनि भरपर्दो सेवा उपलब्ध हुन सकेको छैन । विशेषगरी बर्खा सुरु भएपछि अधिकांश टावरमा समस्या आउँदा स्थानीय बासिन्दा सञ्चार सेवाबाट वञ्चित हुने गरेका छन् ।
बादलले डाँडाकाँडा ढाक्ने, पानी पर्ने र चट्याङसहितको मौसम सुरु भएपछि टेलिफोन सेवा प्रभावित हुने गरेको स्थानीयको गुनासो छ । रोल्पामा दुई दर्जनभन्दा बढी टेलिफोन टावर रहेका छन् ।
सरकारले ठूला सहरमा फाइभ–जी सेवा विस्तार गरिरहँदा रोल्पाका दुर्गम क्षेत्रमा भने थ्री–जी र फोर–जी सेवासमेत भरपर्दो छैन । परिवर्तन गाउँपालिका–६ का स्थानीय दलबहादुर बुढामगरका अनुसार आवश्यक काम पर्दा आफन्त तथा साथीभाइलाई फोन गर्नसमेत समस्या हुने गरेको छ ।
रोल्पाका अधिकांश टेलिफोन टावर अझै सौर्य ऊर्जाबाट सञ्चालन भइरहेका छन् । ऐतिहासिक गाउँ थबाङमा समेत सोलार प्यानलबाट टावर सञ्चालन भइरहेकाले बिहान र साँझको समयमा सेवा प्रभावित हुने गरेको स्थानीयको भनाइ छ ।
गङ्गादेव गाउँपालिका–६ राँकको रातामाटामा रहेको रिपिटर टावरमा समस्या आउँदा आसपासका धेरै टावरले समेत काम गर्न छाड्ने गरेको स्थानीयको भनाइ छ । उक्त टावरसँग अन्य टावरसमेत जोडिएकाले त्यहाँ समस्या आउँदा अन्य क्षेत्रमा समेत असर पर्ने गरेको हो ।
रिपिटर टावरका कर्मचारी ललित वलीका अनुसार टावरमा विद्युत् प्रसारण लाइन जोड्न पटक–पटक जानकारी गराए पनि अहिलेसम्म स्थायी समाधान हुन सकेको छैन । उक्त टावरबाट करिब २२ जिल्लामा सेवा विस्तार भएको छ । त्यसैले त्यहाँ आउने प्राविधिक समस्याले ठूलो भूगोलको सञ्चार सेवामा असर पार्ने गरेको छ ।
बर्खाको समयमा आफ्नो वडाका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध हुने गरेको परिवर्तन गाउँपालिका–१ का वडा अध्यक्ष मैते बुढामगरले बताउनुभयो । थबाङ गाउँपालिका–४ का वडा अध्यक्ष हिकमत घर्तीमगरले पनि आफ्नो वडामा टेलिफोन सेवा भरपर्दो नभएको बताउनुभयो ।
गङ्गादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुनले पनि केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार नहुँदा गाउँपालिकाभित्र रहेका टेलिफोन टावरमा समस्या आउने गरेको बताउनुभयो । सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनका अनुसार गाउँपालिकाका वडा नम्बर १, २ र ३ मा टेलिफोन सेवाको समस्या बढी छ ।
दूरसञ्चार कार्यालय रोल्पाका प्रमुख कैलाश आचार्यले केन्द्रीय विद्युत् प्रसारण लाइन नपुगेका केही टावरमा बर्खाको समयमा समस्या देखिने गरेको बताउनुभयो । उहाका अनुसार चालु वर्षमा ७–८ वटा टावरमा विद्युत् प्रसारण लाइन पुर्याउने लक्ष्य राखिएको छ ।






















