दाङ । दाङको तुलसीपुरमा पैगम्बर हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको १५०९ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
जन्मजयन्तीको अवसरमा मुस्लिम समुदायले तुलसीपुरका विभिन्न चोक तथा बजार क्षेत्रमा धार्मिक झण्डासहित र्याली निकालेका छन् । र्यालीमा सहभागीहरूले पैगम्बर मुहम्मदप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै उहाँले दिनुभएको शान्ति, प्रेम, सद्भाव, मानवता र भाइचाराको सन्देशलाई स्मरण गरेका छन् ।

इस्लाम धर्मावलम्बीहरूले पैगम्बर मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई अल्लाहका अन्तिम रसुल तथा मानवजातिलाई सत्य, शान्ति र सदाचारको मार्ग देखाउने महान् व्यक्तित्वका रूपमा सम्मान गर्ने धार्मिक विश्वास छ । उहाँको जन्मजयन्तीलाई मुस्लिम समुदायले विशेष धार्मिक महत्वका साथ मनाउँदै आएका छन् ।

तुलसीपुरमा निकालिएको र्यालीमा मुस्लिम समुदायका अगुवा, धार्मिक गुरु, युवा तथा स्थानीयहरूको सहभागिता रहेको थियो। विभिन्न धार्मिक झण्डा बोकेर सहभागी भएका उनीहरूले धार्मिक नारासहित तुलसीपुरका विभिन्न चोक तथा बजार क्षेत्र परिक्रमा गरेका थिए ।
र्यालीले तुलसीपुरमा धार्मिक आस्था र सांस्कृतिक विविधतासँगै आपसी सद्भाव र सामाजिक एकताको सन्देशसमेत दिएको थियो । सद्भाव र्याली सुन्नी कादरिया जामा मस्जिद समिति, तुलसीपुर–५ को आयोजनामा निकालिएको हो ।

जन्मजयन्तीको अवसरमा धार्मिक आस्था र विश्वासलाई सम्मान गर्दै पैगम्बर मुहम्मदको शिक्षालाई समाजमा आत्मसात् गर्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको हो ।
पैगम्बर मुहम्मदको जन्मजयन्ती मुस्लिम समुदायका लागि महत्वपूर्ण धार्मिक पर्वका रूपमा रहेको छ । यस दिन श्रद्धालुहरूले विशेष प्रार्थना, धार्मिक कार्यक्रम तथा सामाजिक सद्भावका गतिविधि गर्दै पैगम्बर मुहम्मदको जीवन र शिक्षालाई स्मरण गर्ने गर्दछन् ।






















