२०८३ भाद्र १० गते बुधवार

सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीलाई २० थान डिभाइडर हस्तान्तरण

तुलसीपुर । तुलसीपुरमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले राप्ती परोपकार संघ नेपालले इलाका प्रहरी कार्यालय तुलसीपुरलाई २० थान डिभाइडर हस्तान्तरण गरेको छ ।

संस्थाका उपाध्यक्ष गोरखबहादुर ओलीको अध्यक्षता तथा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीको प्रमुख आतिथ्यतामा आज (बुधबार) आयोजित कार्यक्रममा डिभाइडर हस्तान्तरण गरिएको हो ।

डिभाइडर ग्रहण गर्दै प्रमुख अतिथि डीएसपी पराजुलीले सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीको प्रयाससँगै विभिन्न संघसंस्था, यातायात व्यवसायी, चालक, मजदुर तथा आम नागरिकको समेत महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

सडकमा आवश्यक स्थानमा डिभाइडर राख्दा सवारी साधनको आवागमनलाई व्यवस्थित बनाउन तथा दुर्घटनाको जोखिम कम गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख वीरभान रावलले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना र सडक अनुशासन अत्यन्त आवश्यक रहेको बताउनुभयो ।

सवारी चालकले तीव्र गतिमा सवारी नचलाउने, लेन अनुशासन कायम गर्ने तथा पैदलयात्रुले समेत सडक प्रयोग गर्दा सावधानी अपनाउने हो भने दुर्घटनाको जोखिम उल्लेख्य रूपमा कम गर्न सकिने उहाँले बताउनुभयो ।

यस्तै, यातायात मजदुर संगठन दाङ जिल्ला समितिका अध्यक्ष दीपक बुढाथोकीले सवारी दुर्घटना न्यूनीकरणका लागि चालक तथा यातायात मजदुरलाई मात्र दोष दिनेभन्दा पनि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

चालकले ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्ने र सडकको अवस्था सुधार तथा आवश्यक सुरक्षा सामग्री व्यवस्थापनमा सम्बन्धित निकायले पनि ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

राप्ती परोपकार संघ नेपालका उपाध्यक्ष गोरखबहादुर ओलीले सवारी दुर्घटना न्यूनीकरणमा आफ्नो संस्थाले पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको बताउनुभयो ।

सडक सुरक्षाका लागि आवश्यक पर्ने डिभाइडर प्रहरीलाई हस्तान्तरण गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि दुर्घटना न्यूनीकरण तथा जनचेतनामूलक गतिविधिमा सहकार्य गर्दै जाने उहाँले बताउनुभयो । कार्यक्रमको सहजीकरण ओदबहादुर भण्डारी (गणेश) ले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस