दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरिप्रसाद रिजालले खुमखानी गाउँका नागरिकको कष्टकर दैनिकीप्रति ध्यानाकर्षण भएको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ स्थित खुमखानी गाउँका बासिन्दा अझै आधारभूत आवश्यकताबाट वञ्चित हुनुपरेको भन्दै ध्यानाकर्षण भएको बताउनुभयो ।
देशले २०४६ को प्रजातन्त्र, २०६३ को लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्मको राजनीतिक यात्रा तय गरिसक्दा पनि खुमखानीका स्थानीले आधारभूत आवश्यकता खानेपानी, सडकको पूर्वाधार पाउन नसकेकोमा नेता रिजालले दुख व्यक्त गर्नुभएको छ ।
नेता रिजालले खुमखानी गाउँको प्रत्यक्ष अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा गाउँका महिलाहरू अहिले पनि दैनिक १ देखि २ घण्टाको कठिन पैदल यात्रा गरी गाउँमुनि पुगेर टाउकोमा पानीको गाग्री बोक्न बाध्य रहेको बताउनुभयो ।
खुमखानी गाउँसम्म पुग्ने उपयुक्त सडक पूर्वाधार छैन भने बिजुलीको तार टाँगिए पनि न्यून भोल्टेजका कारण ठुलो समस्या भोग्नुपरेको स्थानीयले बताएका छन् ।
‘२०४६ देखि २०८३ सम्म आइपुग्दा तुलसीपुरले पटक–पटक नयाँ नेतृत्व पायो, तर खुमखानी किन सधैँ ओझेलमा पर्यो ? नेता रिजालले प्रश्न गर्नुभयो–‘स्थानीय सरकार र जनप्रतिनिधिहरूको नजर यो दुर्गम बस्तीसम्म किन पुग्न सकेन ? के विकास केवल सुगम र मुख्य बजार क्षेत्रमा मात्रै सीमित हुने हो ?’
स्थानीयको समस्या केवल मौखिक आश्वासनले नमेटिने भन्दै नेता रिजालले तुलसीपुर उपमहानगरपालिका, वडा कार्यालय तथा सम्बन्धित अन्य निकायहरूसँग खुमखानीमा तत्काल आधारभूत खानेपानी, सडक र बिजुलीको लागि आवश्यक बजेट व्यवस्थापन गरी काम सुरु गर्न माग गर्नुभएको छ ।






















