दाङ। रसुवा बाढीपछि सम्पर्कविहीन बनेका दाङको तुलसीपुरका नागरिकको खोजी तथा उद्धारका लागि तुलसीपुर उपमहानगरपालिकाका नगर प्रवक्ता माधव ओलीको नेतृत्वमा आफन्तसहितको टोली हिजो चितवनको नारायणगढ पुगेको छ। नगर प्रवक्ता ओलीका अनुसार नारायणगढमा रहेको शव पहिचान केन्द्रमा दुई सयभन्दा बढी शव राखिएको छ। ती शवमध्ये सम्पर्कविहीन नागरिकको पहिचानका लागि आफन्तलाई फोटोसहित आज (शुक्रबार) बिहान ७ बजे शव पहिचान केन्द्रमा बोलाइएको थियो। टोली अहिले शव पहिचान केन्द« पुगिसकेको छ ।
शव पहिचान केन्द्रबाट आवश्यक जानकारी लिएपछि नगर प्रवक्ता ओली, तुलसीपुर उपमहानगरपालिका-१३ का वडाध्यक्ष मोहन पौडेल, तुलसीपुर-१९ का वडा सदस्य रामबहादुर पौडेलसहित सम्पर्कविहीन नागरिकका आफन्तहरूको टोली रसुवातर्फ प्रस्थान गर्ने तयारीमा रहेको प्रवक्ता ओलीले जानकारी दिनुभयो। रसुवाको बाढीमा सम्पर्कविहीन नागरिकका आफन्तहरू अहिले चितवन पुग्ने क्रम जारी रहेको छ।






















