दाङ । बुधबारको बिनाशकारी बाढीपछि हराउने दाङका नागरिकको संख्या बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालयको शुक्रबार बिहानसम्मको विवरण अनुसार बाढीपछि दाङका ३५ जना हराइरहेका छन् । यो विवरण जिल्ला प्रशासन कार्यालयमा अध्यावधिक विवरण मात्रै हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार उद्धार कार्य जारी रहे पनि उनीहरूको स्थिति अझै अज्ञात छ । प्रशासनले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक तथ्याङ्क अनुसार कुल ४० जना सम्पर्कविहीन भएका थिए । जसमध्ये हालसम्म ५ जना पुरुष मात्र सम्पर्कमा आएका छन् भने बाँकी ३५ जनाको खोज तथा उद्धार हुन बाँकी छ ।
पछिल्लो थप विवरण अनुसार मैलुङ हाइड्रोपावरमा कार्यरत लमही नगरपालिका–३, बनगाउँ निवासी शम्भुजित चौधरी, जेसीभी चालक घोराही उपमहानगरपालिका–१२ निवासी प्रकाश बिक, राप्ती गापा–३ बसन्तपुर निवासी २६ वर्षिय सर्वेस चौधरी, लमही नगरपालिका–६, खैरी निवासी सिवानी चौधरी र राजपुर गापा–४ सिमलखुट्टी निवासी ४० वर्षका अर्जुन घर्ती हराउनुभएको विवरण छ ।
यस्तै रसुवा स्थित त्रिशुली हाइड्रोपावरमा कार्यरत लमही नगरपालिका–४ निवासी २८ वर्षीय सरद कुमार चौधरी पनि सम्पर्कबिहिन हुनुभएको छ ।
बेपत्ता व्यक्तिहरूको स्थिति ज्ञात हुनासाथ थप अपडेट गराइने प्रशासनले जनाएको छ । साथै, धैर्यधारण गरी नियमित अपडेटमा रहन र कुनै जानकारी प्राप्त भएमा तुरुन्त प्रशासनमा खबर गरिदिन परिवारजन, आफन्त तथा शुभचिन्तकहरूमा हार्दिक अनुरोध गरिएको छ ।






















