२०८३ भाद्र ३१ गते बुधवार

शर्मिला भुजेलद्वारा रसुवा बाढीपीडितलाई १५ हजार सहयोग


सिन्धुलीको कमलामाई नगरपालिका-९, भीमान निवासी शर्मिला भुजेलले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि १५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ। हाल रोजगारीको सिलसिलामा कतारमा रहनुभएकी भुजेलले स्वर्गीय श्रीमान् भक्तबहादुर भुजेलको स्मृतिमा उक्त रकम सहयोग गर्नुभएको हो। गत वर्ष भदौ २० गते सवारी दुर्घटनामा परी भक्तबहादुरको निधन भएको थियो।

श्रीमानको निधनपछि पनि उहाँको सम्झनालाई सामाजिक सेवासँग जोड्दै भुजेलले विपद्मा परेका नागरिकका लागि सहयोग गर्नुभएको हो। बाढीबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा केही सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको उहाँले बताउनुभएको छ।
भुजेलले विपद्का बेला सबैले आफ्नो क्षमता र परिस्थितिअनुसार सहयोग गर्नुपर्ने बताउँदै आफूले गरेको सानो सहयोगले बाढीपीडितको दुःखमा केही राहत मिल्ने विश्वास व्यक्त गर्नुभएको छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि विभिन्न व्यक्ति, संघसंस्था तथा प्रवासी नेपालीहरूले राहत तथा उद्धारका लागि सहयोग गर्दै आएका छन्।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस