दाङ । आज भदौ २३ गते जेनजी आन्दोलनको एक वर्ष पूरा भएको छ ।
एक वर्षअघि आजकै दिन अर्थात् २०८२ साल भदौ २३ गते नेपालका सडकमा एउटा नयाँ पुस्ताको आवाज गुञ्जिएको थियो ।
भ्रष्टाचारको अन्त्य, सुशासन, जवाफदेहिता र अवसरको समानताका लागि सडकमा उत्रिएको जेनजी पुस्ताको आन्दोलन सुरुमा सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधबाट सुरु भयो । तर, केही घण्टामै त्यो आक्रोश वर्षौँदेखि जम्दै आएको राजनीतिक असन्तुष्टि र शासनप्रतिको अविश्वासमा परिणत भयो । विद्यार्थीमाथि गोलि चलाउनु तत्कालिन सरकारको ठुलो कमजोरी भएको जेन्जी पुस्ता बताउँछन् ।
भदौ २३ र २४ गतेको आन्दोलनले नेपालको राजनीतिक इतिहासमै ठूलो मोड ल्यायो । आन्दोलनका क्रममा धेरै युवाले ज्यान गुमाए भने हजारौँ घाइते भए । आन्दोलनकै दबाबपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुभयो र संसद् विघटनसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो ।
त्यसपछि अन्तरिम सरकारले निर्वाचनको घोषणा गर्यो । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ठूलो बहुमत हासिल गर्यो । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाले १८२ सिट जितेपछि अहिले बालेंद्र शाहको नेतृत्वमा नयाँ सरकार सञ्चालनमा छ ।
आन्दोलनले उठाएका सुशासन र जबाफदेहीताका सवालमा अहिले राज्य सञ्चालनको मूल बहसको हिस्सा बनेको छ । तर, प्रश्न यतिमै सकिँदैन । राजनीतिक सत्ता परिवर्तन हुनु आन्दोलनको एउटा उपलब्धि हुन सक्छ ।
पुराना राजनीतिक शक्तिप्रतिको असन्तुष्टि निर्वाचनमार्फत अभिव्यक्त हुनु अर्को महत्वपूर्ण परिणाम हो । तर आन्दोलनको मूल भावना केवल सरकार परिवर्तन थिएन । त्यो सुशासन, भ्रष्टाचार नियन्त्रण, अवसरको समानता, जवाफदेहिता र युवाको भविष्यसँग जोडिएको थियो । नयाँ सरकारसँग नागरिकको अपेक्षा ठूलो छ ।
लोकतन्त्रमा प्रश्न गर्ने अधिकारसँगै जिम्मेवारी पनि जोडिएको हुन्छ । सरकारलाई खबरदारी गर्ने, गलत कामको विरोध गर्ने र सही कामलाई समर्थन गर्ने नागरिक संस्कार बलियो बनाउन आवश्यक छ । अबको चुनौती भनेको ‘पुराना गए, नयाँ आए’ भन्ने नाराभन्दा माथि उठेर ‘शासनको संस्कार बदलियो कि बदलिएन’ भन्ने प्रश्नको उत्तर दिनु हो ।

























