दाङ । रोल्पाको गंगादेव गाउँपालिका–पाखापानी मछाइनेबाट दाङको तुलसीपुर उपमहानगरपालिका–४ मजुवामा बसाइँसराइ गरी हाल कतारमा वैदेशिक रोजगारीमा रहनुभएका समाजसेवी कमल ओलीको पहलमा भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित नागरिकका लागि आर्थिक सहयोग गरिएको छ ।
ओलीको पहलमा परदेशमा रहेका नेपाली तथा अन्य सहयोगीहरूबाट संकलन गरिएको ५१ हजार ४६० रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । गत भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम संकलन गरिएको हो ।
वैदेशिक रोजगारीका क्रममा कतारमा रहेर पनि आफ्नो जन्मभूमि र देशमा परेको विपद्का बेला सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । अभियानमा परदेशमा रहेका नेपालीहरूले आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरेका थिए ।
यस अभियानमा आर्थिक तथा अन्य माध्यमबाट सहयोग गर्ने सम्पूर्ण परदेशी साथीहरू तथा सहयोगीहरूप्रति उहाँले आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ ।


























