२०८३ भाद्र ३१ गते बुधवार

हाम्रो पहुँच सेकेन्डरी स्कुलका विद्यार्थीलाई साइबर अपराधसम्बन्धी अभिमुखीकरण


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कुलका विद्यार्थीलाई साइबर अपराध, बालबालिकाविरुद्ध हुने अपराध तथा बालविवाह न्यूनीकरणसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ

विद्यालयको आयोजना तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालयको सहकार्यमा आज बुधबार कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी वरिष्ठ नायब निरीक्षक किरण केसीले विद्यार्थीलाई साइबर अपराधसम्बन्धी प्रशिक्षण दिनुभएको हो । उहाँले साइबर अपराध कसरी हुने गर्छ, सामाजिक सञ्जालको सही प्रयोग, अनलाइन ठगीबाट कसरी बच्ने, अपरिचित व्यक्तिसँग अनलाइन सम्पर्क गर्दा अपनाउनुपर्ने सावधानी तथा साइबर अपराधमा संलग्न व्यक्तिलाई हुने कानुनी सजायका विषयमा जानकारी गराउनुभएको थियो ।

यस्तै, प्रहरी नायब निरीक्षक बाबुराम खड्काले बालबालिकाविरुद्ध हुने अपराध, हिंसा, बलात्कार तथा यौनजन्य हिंसाबाट बालबालिकालाई कसरी सुरक्षित राख्ने र बालविवाह न्यूनीकरणका लागि विद्यार्थी तथा समुदायको भूमिका के हुन सक्छ भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो । उहाँले बालबालिकामाथि हुने हिंसा तथा अपराधका घटनामा पीडितले अपनाउनुपर्ने कानुनी तथा सुरक्षा उपाय र अपराधमा संलग्न व्यक्तिमाथि हुने कानुनी कारबाहीका विषयमा समेत जानकारी गराउनुभएको हो ।

कार्यक्रममा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले विद्यालयको उद्देश्य नै असल नागरिक र असल जनशक्ति उत्पादन गर्नु रहेको बताउनुभयो । विद्यार्थीको उमेर र प्रविधिप्रतिको बढ्दो पहुँचलाई ध्यानमा राख्दै साइबर अपराध तथा बालबालिकामाथि हुने विभिन्न प्रकारका हिंसाबारे सचेतना आवश्यक रहेको उहाँले बताउनुभयो । यस्ता कार्यक्रमले विद्यार्थीलाई जोखिम पहिचान गर्न, गलत गतिविधिबाट जोगिन तथा आफू र आफ्ना साथीलाई सुरक्षित राख्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक पुनले विद्यालयले स्थापनाकालदेखि नै विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्रै सीमित नगरी बाह्य ज्ञानसमेत प्रदान गर्दै आएको बताउनुभयो । विद्यालयले विद्यार्थीलाई विभिन्न सचेतनामूलक विषयमा समेत जानकारी गराउँदै आएको उहाँले बताउनुभयो ।

उहाँले विद्यार्थीलाई कुनै पनि प्रकारको हिंसामा नलाग्न र अपराधका घटना भएमा अभिभावक, शिक्षक वा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गर्नुभयो । कुनै पनि अपराध र हिंसा अन्त्यका लागि विद्यार्थी स्वयं सचेत हुँदै परिवार र समुदायमा समेत सचेतना फैलाउन उहाँले अनुरोध गर्नुभयो ।

विद्यालयका शिक्षक लक्ष्मी घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक अर्जुन बस्नेतले गर्नुभएको हो । कार्यक्रममा विद्यार्थीले साइबर अपराध, बालविवाह तथा बालबालिकाविरुद्ध हुने हिंसा र अपराधसँग सम्बन्धित विषयमा प्रहरी अधिकारीसँग जिज्ञासा राखेका थिए ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस