२०८३ कार्तिक ६ गते शुक्रवार

भारीको वर्षाको चेतावनीपछि तुलसीपुरमा ‘हाई अलर्ट’


तुलसीपुर । विपद्को समयमा तत्काल उद्धार, राहत तथा प्रतिकार्यलाई प्रभावकारी बनाउन तुलसीपुर उपमहानगरपालिकाले उच्च सतर्कता अपनाएको जनाएको छ ।

उपमहानगरको नगर विपद् व्यवस्थापन समितिले नगरस्तरीय आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई २४ सै घण्टा सक्रिय रूपमा सञ्चालनमा राख्ने र सबै सुरक्षा निकाय तथा सरोकारवालाहरू सम्मिलित एकीकृत द्रुत प्रतिकार्य टोली गठन गर्ने निर्णय गरेको छ ।

कार्यवाहक नगरप्रमुख माधव ओलीको अध्यक्षतामा बिहीबार बसेको नगर विपद् व्यवस्थापन समितिको बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई व्यवस्थित र चुस्त बनाउन उक्त निर्णय गरेको हो।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी, नगर प्रहरी, विपद् व्यवस्थापन शाखालगायतका सरोकारवालाहरूको सहभागिता रहेको उक्त बैठकले विपद्को समयमा सूचना सङ्कलन, समन्वय र तत्काल सहायताका लागि जनशक्ति, हटलाइन, इन्टरनेट र सञ्चार साधनसहित आपत्कालीन केन्द्रलाई चौबीसै घण्टा तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।

त्यस्तै, खोज तथा उद्धार कार्यलाई थप तीव्र र प्रभावकारी बनाउन सुरक्षा निकाय, नगर प्रहरी, स्वास्थ्यकर्मी, प्यारामेडिक्स, रेडक्रस स्वयंसेवक, हेभी इक्विपमेन्ट अपरेटर, एम्बुलेन्स चालक, स्काउट तथा स्थानीय युवा क्लबका प्रतिनिधिहरू समावेश गरी एकीकृत नगर द्रुत प्रतिकार्य टोली गठन गरिएको छ।

बैठकले बबई, पातुखोला, ग्वारखोला, रानीघाट र सक्राम खोला लगायतका उच्च जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने र मोबाइल एसएमएस, सामाजिक सञ्जाल तथा माइकिङमार्फत पूर्वसूचना प्रवाह गर्ने निर्णयसमेत गरेको छ ।

यस्तै, प्रभावित नागरिकलाई स्थानान्तरण गर्न खाली सार्वजनिक स्थान, विद्यालय र सामुदायिक भवनहरूलाई न्यूनतम सुविधासहित अस्थायी आश्रयस्थलका रूपमा तयारी अवस्थामा राखिने भएको छ । साथै, त्रिपाल, कम्बल, म्याट, खाद्यान्न र उद्धारका उपकरण खरिद तथा भण्डारण गरी नगरस्तरीय विपद् व्यवस्थापन कोषबाट आवश्यक बजेट नियमानुसार परिचालन गरिने उपमहानगरपालिकाले जनाएको छ।

बैठकले विपद्को पूर्वसूचना तथा सम्प्रेषणका लागि सूचना अधिकारीको संयोजकत्वमा संयुक्त कार्यदल गठन गरेको छ। सदस्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र, नेपाल रेडक्रस सोसाइटी र विपद् व्यवस्थापन रहेका छन् । यसैबीच, बैठक लगत्तै कार्यवाहक नगरप्रमुख माधव ओलीको नेतृत्वमा उच्च जोखिमयुक्त रहेका विभिन्न क्षेत्रहरूको स्थलगत अनुगमनसमेत गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस