दाङ । चाडपर्व नजिकिदै गर्दा बजारमा हुन सक्ने कालोबजारी रोक्न तुलसीपुरमा बजार अनुगमनलाई तिब्र पारिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरको समन्वयमा तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाले बजार अनुगमनलाई तिब्रता दिएको हो ।
शाखा प्रमुख राजु श्रेष्ठको नेतृत्वमा बिहिबार तुलसीपुरका होटल, किराना पसल, डेरी उद्योग लगायतमा अनुगमन गरिएको छ । अनुगमनको क्रममा केहि होटेलमा अखाद्य रंगको मिसावट, भान्सामा फोहोर, दर्ता तथा नविकरण बिना संचालनमा रहेको देखिएको छ । यस्तै केहि किराना पसल र डेरीमा म्याद गुज्रिएका सामग्री फेला परेपछि जफत गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बरालले केहि होटेलमा अखाद्य रंगको प्रयोग भेटिएपछि रंग मिसावट सामान बरामद गरिएको बताउनुभयो । यस्तै केहि होटलको भान्सामा फोहोर देखिएपछि सरसफाईमा ध्यान दिन आग्रह गरिएको बताउनुभयो ।
उपभोक्ता हित संरक्षण शाखा प्रमुख राजु श्रेष्ठले बजारमा हुन सक्ने अस्वभाविक मूल्य वृद्धि रोक्न र अखाद्य वस्तुको बिक्रिवितरण रोक्नका लागि बजार अनुगमनलाई तिब्र पारिएको बताउनुभयो । उहाँले चाडपर्वको समयमा उपभोक्तालाई गुणस्तरीय वस्तु सहज रूपमा उपलब्ध गराउन बजार अनुगमनलाई निरन्तरता दिइने जानकारी दिनुभयो । विभिन्न १३ वटा व्यवसाय अनुगमन गरिएकोमा केएस रेष्ट्रो र तुलसीमा सामोचिमात्रै सन्तोषजक रहेको पाइएको छ ।
अनुगमन टोलीमा तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी यज्ञ बहादुर केसी, खाद्य निरीक्षक सुदर्शन गोसाई, उपभोक्ता हित संरक्षण शाखाका खेमकान्त पाण्डे, नगर प्रहरी प्रमुख ऋषिराज पछाई लगायतको पनि सहभागीता रहेको थियो ।

























