२०८३ कार्तिक ५ गते बिहिवार

देशभर वर्षाको गतिविधि तीव्र बन्दै

दाङ । दाङसहित देशभर वर्षाको गतिविधि तीव्र बन्दै गएको छ । बङ्गालको खाडीमा विकसित भई गहिरो न्यून चापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र बनेको हो ।

दाङ उपत्यकामा हिजोदेखि निरन्तर वर्षा भइरहेको छ । आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र पर्सि आइतबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । निरन्तर झरी परिरहे पनि अहिले बिहानसम्म कुनै पनि नदी, खोलामा ठूलो बाढी आएको छैन । तर पानीको बहाव बढ्न थालेको छ ।

आज र भोलि जोखिम बढी रहेकाले विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ । महाशाखाका अनुसार आज लुम्बिनी र कर्णाली प्रदेशको थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ ।

आज र भोलि ठूलो पानी पर्ने भएकाले सरकारले त्यसैअनुसार पूर्वतयारी र उच्च सतर्कता अपनाएको जनाएको छ । धेरै विद्यालयले आज बिदा दिएका छन् । भारी वर्षाको चेतावनीपछि दाङको तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाले विद्यालय बन्द गरेका छन् ।

मुख्य राजमार्गमा रातको समयमा गाडी चलाउन रोक लगाइएको छ । नदी खोला किनारका बस्तीमा निरन्तर निगरानी भैरहेको सरकारी निकायले जनाएका छन् । मौसमविदहरुले विशेषगरी आज र भोलि लामोदूरीको यात्रा नगर्न तथा बाढी र पहिरोको जोखिम भएको ठाउँमा विशेष चनाखो हुन अनुरोध गरेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस