२०८३ असोज २० गते मङ्गलवार

व्यवस्थित पार्किङ र नक्सा शाखाको सेवा सुधारको माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र


दाङ । तुलसीपुरका मुख्य बजार क्षेत्रमा व्यवस्थित पार्किङको व्यवस्था गर्न तथा नक्सा शाखाको सेवा प्रवाहलाई प्रभावकारी बनाउन माग गर्दै स्थानीय युवाहरूले तुलसीपुर उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।

युवा व्यवसायी, वास्तुविज्ञ तथा इन्जिनियर विक्रमबमवु केसी, इन्जिनियर सूर्यबहादुर थापा, व्यवसायी देबु बस्नेत, धनिराम सुवेदीलगायतका युवाहरूले आज शुक्रबार कार्यवाहक नगर प्रमुख माधव ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा तुलसीपुरका प्रमुख व्यापारिक केन्द्र मानिने ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ लाइनमा बढ्दो सवारी चापका कारण सेवाग्राही, व्यवसायी तथा सर्वसाधारणले दैनिक सास्ती भोग्नुपरेको उल्लेख गरिएको छ ।

उपमहानगरपालिकाले सार्वजनिक वा सरकारी जग्गामा खुला अथवा बहुस्तरीय पार्किङ निर्माण गर्नुपर्ने र दीर्घकालीन व्यवस्था नहुँदासम्म निजी जग्गा भाडामा लिएर शुल्कसहितको पार्किङ सञ्चालन गर्नुपर्ने माग गरिएको छ ।

मुख्य बजार क्षेत्रमा जोर–बिजोर वा एकतर्फी पार्किङ व्यवस्था लागू गर्न, लोडिङ–अनलोडिङका लागि निश्चित समय तोक्न तथा ई–रिक्साका लागि निश्चित ‘ड्रप एन्ड पिक’ स्थान तोक्न पनि माग गरिएको छ ।

त्यसैगरी नक्सा शाखातर्फ एक जना कर्मचारी अनुपस्थित हुँदा नक्सा पास, स्थलगत निरीक्षण तथा इजाजतपत्र वितरणको काम प्रभावित हुने समस्या समाधान गर्न वैकल्पिक कर्मचारी तोक्न माग गरिएको छ । नक्सा जाँच, स्थलगत निरीक्षण र स्वीकृतिका लागि समयसीमा निर्धारण गरी डिजिटल नक्सा पास प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने माग पनि गरिएको छ ।

ज्ञापनपत्रमा कर्मचारीलाई क्रस–ट्रेनिङ, डिजिटल हस्ताक्षर तथा सेवाग्राहीले आफ्नो फाइलको अवस्था अनलाइनबाटै हेर्न सक्ने व्यवस्था गर्न सुझाव दिइएको छ । माग सम्बोधन नभए चरणबद्ध रूपमा शान्तिपूर्ण विरोधका कार्यक्रम गर्ने चेतावनीसमेत दिइएको छ ।

जसअनुसार असोज १३ र १४ गते कालोपट्टी बाँधेर उपमहानगरपालिकाको मुख्य गेटमा प्रदर्शन गर्ने, असोज १५ र १६ गते धर्ना दिने तथा असोज १७ र १८ गते थप दबाबमूलक कार्यक्रम गर्ने उल्लेख गरिएको छ ।

यसैबीच कार्यवाहक नगर प्रमुख माधव ओलीले युवाहरूले उठाएका गुनासा जायज रहेको बताउनुभएको छ । युवाहरूले नक्सा पासको विषय उठाए पनि यो नक्सा पासमा मात्र सीमित नभई सुशासन कायम गर्दै सबै शाखाबाट छिटोछरितो सेवा प्रवाह गर्नुपर्ने विषय भएको उहाँले बताउनुभयो ।

तुलसीपुर बजारमा व्यवस्थित पार्किङको समस्या समाधानका लागि सबै सरोकारवाला निकायसँग छलफल गर्नुपर्ने बताउँदै उहाँले नागरिक, सवारी चालक, घरधनी तथा सम्बन्धित निकाय सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

पार्किङका लागि सम्भावना भएका स्थानहरूको खोजी गरी कहाँ पार्किङ गर्न सकिन्छ भन्ने विषयलाई कार्यान्वयनका लागि अघि बढाउने उहाँले प्रतिबद्धता जनाउनुभयो । उहाँले आज नै जनपथ प्रहरी, इलाका प्रहरी र ट्राफिक प्रहरीका प्रमुखहरूसँग छलफल गरिएको बताउनुभयो । चाडपर्वलाई मध्यनजर गर्दै तत्कालीन समस्या समाधानका साथै दीर्घकालीन रूपमा पार्किङ व्यवस्थापन गर्ने विषयमा छलफल भएको ओलीले बताउनुभयो ।

युवाहरूले उठाएका गुनासाका विषयमा असोज महिनाको अन्तिमसम्म परिणाम देखिने गरी काम गर्ने कार्यवाहक नगर प्रमुख ओलीले प्रतिबद्धता जनाउनुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस