२०८३ कार्तिक ६ गते शुक्रवार

कृषि विकासका विभिन्न कार्यक्रमका लागि कृषि ज्ञान केन्द्र दाङद्वारा आवेदन आह्वान


दाङ । कृषि ज्ञान केन्द्र दाङले आर्थिक वर्ष २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत विभिन्न कृषि विकास कार्यक्रम सञ्चालनका लागि आवेदन आह्वान गरेको छ ।

केन्द्रले सूचना जारी गर्दै इच्छुक कृषक समूह, कृषि सहकारी, कृषक उद्यमी, फर्म तथा कम्पनीलाई आवश्यक कागजातसहित प्रस्ताव पेश गर्न आग्रह गरेको हो । केन्द्रका प्रमुख नवराज भण्डारीका अनुसार सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र अर्थात् असोज २० गतेसम्म आवेदन दिनुपर्नेछ ।

केन्द्रले युवा लक्षित कृषि उत्पादन तथा उद्यमशीलता, सिँचाइसहित कृषि विकास कार्यक्रम, क्षेत्रफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम, मागमा आधारित कृषि विकास कार्यक्रम, कृषि यान्त्रीकरण तथा रैथाने र स्थानीय जातका बाली प्रवद्र्धनलगायतका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

यस्तै, कृषि उपज बजारीकरण सामग्रीमा सहयोग, बगरखेती तथा बसन्ते बाली प्रवद्र्धन, बीउ आलुको ढुवानी, बोरा तथा शीत भण्डार शुल्कमा सहयोग र सहकारीमार्फत कृषि प्रवद्र्धन कार्यक्रम पनि सञ्चालन हुनेछन् ।

केन्द्रका अनुसार युवा लक्षित कृषि उत्पादन तथा उद्यमशीलता कार्यक्रमअन्तर्गत कृषि मूल्य शृङ्खला विकासका क्रियाकलाप तथा नवप्रवर्तन योजना र कृषि सम्बन्धित सीपको उपयोग गर्न सकिनेछ । यस कार्यक्रममा १८ देखि ४० वर्ष उमेर समूहका युवा सहभागी हुन सक्नेछन् ।

सिँचाइतर्फ सोलार, थोपा र लिफ्ट सिँचाइ, बोरिङ, पम्पसेट तथा मोटर खरिद, सिँचाइ कुलो र पोखरी निर्माण तथा सुधारका लागि समेत सहयोग उपलब्ध गराइने केन्द्रले जनाएको छ ।

यस्तै सहकारीमार्फत कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत सहकारी संघ–संस्थामार्फत कृषि तथा पशुपन्छीजन्य उत्पादन, प्रशोधन र बजारीकरणसँग सम्बन्धित प्रविधिमा आधारित मेसिन, औजार, उपकरण तथा सामग्रीमा सहयोग गरिनेछ ।

यस कार्यक्रमका लागि सहकारी संघ–संस्थाले कार्ययोजनासहितको प्रस्ताव कार्यालयमा पेश गर्नुपर्नेछ । दर्ता भएको मितिले कम्तीमा दुई वर्ष पूरा भएका र बचत तथा ऋण कारोबारबाहेकका सहकारी संघ–संस्था हुनुपर्नेछ । कम्तीमा दुई लाख रुपैयाँ लागतको प्रस्ताव पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सहकारीमार्फत कृषि प्रवद्र्धन कार्यक्रममा अनुदानको सीमा सहकारी संघ–संस्थाले पेश गरेको प्रस्तावको कुल रकमको ५० प्रतिशत वा अधिकतम ५ लाख रुपैयाँमध्ये जुन रकम कम हुन्छ, त्यति मात्र उपलब्ध गराइनेछ ।

कार्यक्रमका लागि आवेदन दिनेले निवेदन, दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, गत आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, व्यावसायिक कार्ययोजनासहितको प्रस्ताव पेश गर्नुपर्नेछ ।

यस्तै समूह तथा सहकारीको हकमा अनुदान माग गर्ने संस्थाको निर्णयको प्रतिलिपि, प्रस्ताव पेश गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि तथा कार्यक्रम सञ्चालन हुने जग्गासम्बन्धी जग्गाधनी प्रमाणपुर्जा वा भाडामा लिएको भए सम्झौता पत्र समेत पेश गर्नुपर्नेछ ।

कृषि ज्ञान केन्द्रले तोकिएको मितिभित्र आवश्यक कागजात र प्रक्रिया पूरा गरी आवेदन पेश गर्न सम्बन्धित कृषक, समूह, सहकारी, फर्म तथा कम्पनीलाई आग्रह गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस