२०८३ असोज २० गते मङ्गलवार

जनसेवा सहकारीको २७ औँ वार्षिक साधारण सभा : २३ लाख बढी खुद नाफा

तुलसीपुर । तुलसीपुर–७ खर्चवामा रहेको जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार २७औँ वार्षिक साधारण सभा गरेको छ ।

साधारण सभामा संस्थाले आर्थिक वर्ष २०८२/८३ मा ६ करोड ६८ लाख ७५ हजार ५ सय ७० रुपैयाँ बचत संकलन गर्दै ६ करोड ३२ लाख २ हजार ३ सय ७१ रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ ।

संस्थाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल ८८ लाख २० हजार ६ सय ३ रुपैयाँ आम्दानी भएको छ भने ६० लाख ६६ हजार ८३४ रुपैयाँ खर्च भएको छ। संस्थाले उक्त अवधिमा २३ लाख ४० हजार ७ सय ३ रुपैयाँ खुद नाफा गरेको छ ।

२०८३ साल असार मसान्तसम्म संस्थामा १ हजार ३सय ७७ जना शेयर सदस्य रहेका छन् भने कुल शेयर पुँजी ९० लाख १९ हजार रुपैयाँ रहेको छ । संस्थाले आगामी आर्थिक वर्ष २०८३/८४ मा शेयर सदस्य संख्या १५ प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको छ ।

शेयर सदस्यले कार्यालयमा आएर बाल बचत खाता खोलेमा संस्थाको तर्फबाट पाँच सय रुपैयाँ बचत गरिदिने तथा १ लाख रुपैयाँसम्मको ओभरड्राफ्ट (ओडी) कर्जा लगानी गर्ने योजना पनि अघि सारेको छ ।

यस्तै सदस्यको आर्थिक गतिविधिलाई सहजीकरण गर्दै बचत तथा कर्जा कारोबारलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने, सदस्यको सहभागिता बढाउने योजनासमेत आगामी वर्षका प्राथमिकतामा रहेका छन् ।

साधारण सभामा संस्थाका सचिव दीपक केसीले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, कोषाध्यक्ष इन्जिनियर विक्रमबाबु केसीले आर्थिक प्रगति विवरण प्रस्तुत गर्दै आर्थिक वर्ष २०८३/८४ का लागि १ करोड ६ लाख ११ हजार पाँच सय रुपैयाँको प्रस्तावित बजेट पेश गर्नुभएको थियो ।

लेखा सुपरिवेक्षण समितिका संयोजक सुनिल खनालले प्रस्तुत गर्नुभएको समितिको प्रतिवेदनमा शेयर सदस्य वृद्धि, सदस्यहरूको कारोबारलाई प्रविधिमैत्री बनाउने, कार्यालय व्यवस्थापन सुधार तथा सदस्यलाई थप प्रभावकारी सेवा उपलब्ध गराउने विषयमा ध्यान दिन सुझाव दिइएको थियो ।

सभाका अवसरमा विभिन्न विधामा उत्कृष्ट सदस्य तथा सहयोगी संस्थालाई सम्मानसमेत गरिएको छ। असल बचतकर्तातर्फ कोइली खत्री ओली, धेरै बचतकर्तातर्फ हेमराज बस्नेत, घरायसीतर्फ असल ऋणी पार्वता न्यौपाने, व्यवसायीतर्फ असल ऋणी रविलाल न्यौपाने तथा धेरै सदस्य बनाउनेतर्फ हुमलाल जैसी, सीताकुमारी ओली, सरस्वती भण्डारी, मञ्जु भण्डारी र रेकमबहादुर भुसाललाई सम्मान गरिएको थियो ।

त्यस्तै, ज्येष्ठ सम्मानित सदस्यतर्फ रूमलाल भण्डारी र छमाकुमारी केसी तथा असल कर्मचारीतर्फ मधु भुसाललाई सम्मान गरिएको थियो। भवन निर्माण कोषमा सहयोग गर्ने रिता आचार्य केसी, सुस्मिता गिरी, सुशीला केसी, शोभाकर सापकोटा, सुरेश भण्डारी, गोकर्ण केसी, खगप्रसाद पोखरेल, ज्ञानप्रसाद पोखरेल, विष्णुबहादुर केसी, कुन्तादेवी भुसाल र कमल पाण्डेलाई पनि सम्मान गरिएको थियो। यस्तै संस्थागततर्फ राप्ती लाइफ केयर हस्पिटल तुलसीपुरलाई सम्मान गरिएको हो।

संस्थाका अध्यक्ष जीवन भण्डारीको अध्यक्षता भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर–७ का वडा अध्यक्ष रामबहादुर जिसीले सहकारीले सदस्यको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको थियो। उहाँले सहकारीले पारदर्शिता, सुशासन र सदस्यको हितलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि जिल्ला सहकारी संघ दाङका अध्यक्ष हेमराज गौतमले सहकारी संस्थाहरूले सदस्यको विश्वास कायम गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभएको थियो। उहाँले सहकारीको दिगोपनका लागि सदस्यको सक्रिय सहभागिता, नियमित कारोबार र संस्थागत सुशासन महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

संस्थाका सल्लाहकार नारायणप्रसाद भुसालले संस्थाको विकासका लागि शेयर सदस्य, सञ्चालक समिति, कर्मचारी र सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । संस्थाका उपाध्यक्ष खिमराम जैसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव दीपक केसीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस