दाङ । मञ्चमा उभिएर स्पष्ट, आत्मविश्वासका साथ आफ्ना कुरा राख्न सक्ने क्षमताको विकास गराउन संचालित चार दिने तालिमको समापन गरिएको छ ।
तुलसीपुर–६ स्थित शिखा इङ्लिस स्कुलमा सञ्चालन गरिएको चार दिने उद्घोषण तालिम समापन भएको हो ।
विद्यार्थीलाई केवल पाठ्यपुस्तकको ज्ञानमा सीमित नराखी उनीहरूमा बोल्ने कला, प्रस्तुतीकरण क्षमता र आत्मविश्वास विकास गराउने उद्देश्यले सञ्चालन गरिएको तालिम सोमबार समापन गरिएको हो ।
चार दिनसम्म सञ्चालन भएको तालिममा विद्यार्थीले औपचारिक कार्यक्रम सञ्चालन गर्दा अपनाउनुपर्ने विधि तथा प्रक्रियादेखि मञ्चमा प्रस्तुत हुँदा ध्यान दिनुपर्ने विषयसम्मका व्यवहारिक ज्ञान हासिल गरेका छन् ।
कार्यक्रममा अतिथिको स्वागत, आसन ग्रहण, कार्यक्रमका विभिन्न चरणको घोषणा, वक्तालाई बोलाउने तरिका तथा कार्यक्रमलाई सहज र प्रभावकारी रूपमा अगाडि बढाउने शैलीबारे विद्यार्थीलाई अभ्यास गराइएको थियो ।
त्यसैगरी भाषण तथा वक्तृत्वकलामा कसरी प्रस्तुत हुने, श्रोतालाई आकर्षित गर्ने गरी शब्दको चयन कसरी गर्ने, आवाजको उतारचढाव, उच्चारण, हाउभाउ र आत्मविश्वासका साथ आफ्ना कुरा राख्ने लगायतका विषयमा पनि प्रशिक्षण दिइएको थियो ।
तालिमका क्रममा विद्यार्थीलाई केवल सैद्धान्तिक जानकारी मात्रै नभई मञ्चमै उभिएर कार्यक्रम सञ्चालन तथा बोल्ने अभ्याससमेत गराइएको थियो । जसले विद्यार्थीलाई आफ्ना कमजोरी पहिचान गर्दै सुधार गर्ने र सार्वजनिक रूपमा बोल्न सक्ने आत्मविश्वास बढाउन सहयोग पुगेको विद्यालयले जनाएको छ ।
तालिमका प्रशिक्षक रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल र समाचार प्रमुख जीतसागर जी.एमले तालिमबाट सिकेका विषयलाई व्यवहारमा उतार्न विद्यार्थीलाई आग्रह गर्नुभएको छ ।
बोल्ने कला एकैपटकमा पूर्ण हुने नभई निरन्तरको अभ्यासबाट निखारिँदै जाने भएकाले विद्यालयका कार्यक्रम, कक्षाकोठा तथा दैनिक जीवनमा समेत सिकेका सीप प्रयोग गर्न सुझाव प्रदान गरिएको छ ।
समापन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुमन केसीले विद्यार्थीको व्यक्तित्व विकासका लागि यस्ता व्यवहारिक तथा सिर्जनात्मक कार्यक्रमलाई विद्यालयले प्राथमिकता दिँदै आएको बताउनुभयो ।
उहाँले उद्घोषण तथा वक्तृत्वकलाले विद्यार्थीको आत्मविश्वास बढाउनुका साथै नेतृत्व क्षमता विकास गर्नसमेत महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आगामी दिनमा पनि उद्घोषण तालिमलाई निरन्तरता दिने जानकारी दिनुभयो ।
विद्यालयले विद्यार्थीको पढाइसँगै उनीहरूमा रहेको प्रतिभा पहिचान र प्रस्फुटन गराउने उद्देश्यले अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकता दिँदै आएको जनाएको छ । उद्घोषण तालिमबाट विद्यार्थीले मञ्चमा बोल्ने सीप मात्र नभई आफ्ना विचारलाई स्पष्ट, व्यवस्थित र प्रभावकारी रूपमा प्रस्तुत गर्ने आत्मविश्वाससमेत प्राप्त गरेका छन् ।

























