दाङ । कला, संगीत र सिर्जनशीलताको माध्यमबाट स्थानीयस्तरमा लुकेर रहेका प्रतिभालाई उजागर गर्दै नयाँ पुस्तालाई सीप र सिर्जनाको बाटोमा अघि बढाउने उद्देश्यले तुलसीपुरमा ‘नमस्कार आर्ट ग्यालरी एण्ड म्युजिक ट्रेनिङ सेन्टर’ सञ्चालनमा आएको छ ।
तुलसीपुर उपमहानगरपालिका–६ स्थित नेपाल रेडक्रस भवनमा स्थापना गरिएको सेन्टरको सोमबार तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको हो ।
नमस्कार आर्ट ग्यालरी एण्ड म्युजिक ट्रेनिङ सेन्टरका संस्थापक लेखराज गिरीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा कला र संगीतलाई मनोरञ्जनको माध्यममा मात्र सीमित नराखी सीप, सिर्जना, आत्मनिर्भरता र रोजगारीसँग जोड्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।
कार्यक्रममा उपप्रमुख स्यानी चौधरीले कला र संगीत मानिसको जीवनसँग जोडिएको महत्वपूर्ण पक्ष भएको बताउँदै स्थानीयस्तरमा रहेका प्रतिभालाई खोजी गरी उनीहरूलाई उचित अवसर र प्रशिक्षण दिन यस्ता संस्थाको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
कलाकार ओमलाल विक, प्याप्सन तुलसीपुर नगर अध्यक्ष डम्बर डाँगी तथा एन–प्याब्सन दाङका जिल्ला अध्यक्ष हरिप्रसाद भण्डारी लगायतका वक्ताहरूले दाङमा कला र संगीतको क्षेत्रमा प्रशस्त सम्भावना रहे पनि धेरै प्रतिभा अवसरको अभावमा ओझेलमा परेको उल्लेख गर्नुभयो ।
उहाँहरूले ‘नमस्कार आर्ट ग्यालरी एण्ड म्युजिक ट्रेनिङ सेन्टर’ले त्यस्ता लुकेका प्रतिभालाई खोजी, प्रशिक्षण र अवसर प्रदान गर्दै दाङबाट राष्ट्रियस्तरका कलाकार उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
सेन्टरमा मुहार चित्र, दृश्य चित्र, ताम्रपत्र, शिलालेख, साइन बोर्ड तथा ब्यानर लेखाइ लगायतका कलासम्बन्धी सीप सिकाइनेछ । त्यसैगरी संगीततर्फ बाँसुरी, मादल, हार्मोनियम लगायतका वाद्यवादनसम्बन्धी प्रशिक्षणसमेत सञ्चालन गरिने संस्थाले जनाएको छ ।
लामो समयदेखि कला तथा संगीतको साधनामा सक्रिय रहँदै आउनुभएका संस्थापक लेखराज गिरीले आफ्नो जीवनको लामो समयको साधना, ज्ञान, विवेक, सीप र अनुभव अब नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले सेन्टर स्थापना गरेको बताउनुभयो ।
सन्दीप चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शरद शर्मा मजगैयाँले गर्नुभएको हो ।

























