दाङ । तुलसीपुर उपमहानगरपालिका–७ का विभिन्न स्थानमा विद्युत् सेवा विस्तार तथा पुराना संरचनाको मर्मत कार्यलाई तीव्र पारिएको छ ।
विद्युत् सेवामा देखिँदै आएका समस्या समाधान गर्दै वडाका बस्तीमा भरपर्दो विद्युत् पहुँच विस्तार गर्न काम अघि बढाइएको हो । तमाखेदेखि खर्च वडा कार्यालयसम्म करिब ३० वर्ष पुराना विद्युतका तार तथा पोल हटाएर नयाँ पोल र तार विस्तार गरिएको छ ।
पुराना र जीर्ण संरचनाका कारण विद्युत् सेवा प्रभावित हुने तथा जोखिम बढ्ने अवस्थालाई ध्यानमा राख्दै नयाँ संरचना निर्माण गरिएको वडा कार्यालयले जनाएको छ । त्यस्तै, राजापुर क्षेत्रमा पोल स्थानान्तरण गरिएको छ भने बम्नै–ढिकपुर टोलमा नयाँ पोल तथा तार विस्तार गरिएको छ ।
पछिल्लो तीन वर्षको अवधिमा वडाका विभिन्न स्थानमा विद्युत् विस्तार गर्नुका साथै पुराना पोल, तार तथा अन्य संरचनाको मर्मतसम्भारसमेत गरिएको वडा अध्यक्ष रामबहादुर जिसीले बताउनुभयो । वडाका विभिन्न टोलमा विद्युत् पूर्वाधार विस्तार भएपछि स्थानीयवासीमा समेत खुसी बढेको छ । लामो समयदेखि पुराना पोल र तारका कारण समस्या झेल्दै आएका स्थानीयले नयाँ संरचना निर्माण तथा मर्मतपछि विद्युत् सेवा थप सुरक्षित र सहज भएको बताएका छन् ।
स्थानीयको आवश्यकता र मागलाई प्राथमिकतामा राख्दै विद्युत् सेवा सुधारका लागि वडा कार्यालयले निरन्तर पहल गरिरहेको वडा अध्यक्ष जिसीले बताउनुभयो । वडाको विकासका लागि आवश्यक पूर्वाधार निर्माण तथा सेवा सुधारमा उहाँ सक्रिय हुनुहुन्छ ।
नेपाल विद्युत् प्राधिकरण तुलसीपुर वितरण केन्द्रले पोल तथा तार विस्तार र मर्मतमा देखाएको तदारुकताप्रति वडा अध्यक्ष जिसीले धन्यवादसमेत व्यक्त गर्नुभएको छ । उहाँले विद्युत् प्राधिकरण, कर्मचारी तथा अन्य सरोकारवालाको समन्वय र सहयोगले वडाका विभिन्न स्थानमा विद्युत् सेवा सुधार गर्न सहज भएको बताउनुभयो ।
विद्युत् विस्तार तथा पुराना संरचनाको मर्मतसँगै वडाका बस्तीमा सुरक्षित, भरपर्दो र नियमित विद्युत् सेवा पुर्याउने प्रयासलाई थप प्रभावकारी बनाउने वडा कार्यालयको लक्ष्य रहेको छ ।


























