दाङ। बालबालिकाको शैक्षिक सुधारमा घरको वातावरण र अभिभावकको व्यवहार महत्वपूर्ण हुने भन्दै दाङको तुलसीपुर–७ झुमरेस्थित हाम्रो पहुँच सेकेन्डरी स्कुलले विद्यार्थीको शैक्षिक सुधारका लागि अभिभावकसँगको छलफल तथा अन्तरक्रियालाई तीव्र पारेको छ ।
विद्यालयले शुक्रबार कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीका अभिभावकसँग अन्तरक्रिया गर्दै बालबालिकाको सिकाइ उपलब्धि सुधार, व्यवहारिक ज्ञान र मोबाइल प्रयोगको विषयमा छलफल गरेको हो ।
हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष शुक्रराज भण्डारीले विद्यार्थीले किताबको ज्ञानसँगै जीवन जिउने कला पनि सिक्नुपर्ने बताउनुभयो । उहाँले अभिभावकले जानेका र दैनिक जीवनमा प्रयोग गर्दै आएका व्यवहारिक ज्ञान छोराछोरीलाई पनि सिकाउनुपर्नेमा जोड दिनुभयो ।
पछिल्लो समय धेरै बालबालिकाको उद्देश्य विदेश जाने बनेको उल्लेख गर्दै उहाँले विदेशमा पुगेपछि अभिभावकले नसिकाएका सामान्य कामसमेत गर्नुपर्ने अवस्था आउने गरेको बताउनुभयो । बालबालिकालाई घरका दैनिक कामकाजमा सहभागी गराउँदा उनीहरूमा व्यवहारिक ज्ञान, आत्मनिर्भरता र जिम्मेवारीबोध विकास हुने उहाँको भनाइ छ ।
विद्यालयका प्रधानाध्यापक शिव पुनले विद्यार्थीको सिकाइ उपलब्धि सुधार्न विद्यालय र अभिभावकबीच निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो । विद्यालयमा सिकेका कुरा घरमा अभ्यास गर्ने वातावरण अभिभावकले बनाउनुपर्ने उहाँले बताउनुभयो ।
विद्यालय सञ्चालन उपसमितिका संयोजक कृष्णप्रसाद पोखरेल, सदस्य उत्तमप्रसाद भण्डारीलगायतले बालबालिकाको मोबाइल प्रयोग नियन्त्रण गर्न अभिभावक स्वयं उदाहरण बन्नुपर्ने बताउनुभयो । बालबालिकाकै अगाडि अभिभावकले अनावश्यक रूपमा मोबाइल चलाउने बानी त्याग्न सके उनीहरूलाई मोबाइलबाट टाढा राख्न सहज हुने भनाई छ ।
अन्तरक्रियाका क्रममा अधिकांश अभिभावकले घरमा बालबालिकाले पढाइलेखाइमा कम रुचि देखाउने गरेको अनुभव सुनाएका थिए । विद्यालयका प्रधानाध्यापक शिव पुनको अध्यक्षतामा कार्यक्रम भएको हो । शिक्षक हरि खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक एकराज भण्डारीले गर्नुभएको हो ।


























