तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–१९ हाडिमेमा रहेको नयाँ पाइला पुनःस्थापना केन्द्रमा बडादसैँका अवसरमा नयाँ पाइलामा उपचारार्थी र एकाघरका अभिभावक बिच दसैं टीका तथा जमरा ग्रहण कार्यक्रम सम्पन्न भएको छ । परिवारबाट टाढा रहेर उपचार गराइरहेका व्यक्तिलाई दसैँको खुसी बाँड्ने र पारिवारिक वातावरणको अनुभूति गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
केन्द्रका निर्देशक सुरेश भुसालका अनुसार केन्द्रमा हाल ३९ जना उपचारार्थी रहेका छन्। विगत १४ वर्षदेखि निरन्तर पुनःस्थापनाको क्षेत्रमा क्रियाशील केन्द्रले दुव्र्यसनमा फसेका व्यक्तिलाई उपचार, परामर्श र सकारात्मक जीवनशैली अपनाउन प्रेरित गर्दै आएको छ ।
केन्द्रका निर्देशक सुरेश भुसालका अनुसार हालसम्म केन्द्रमा उपचारपछि करिब एक हजार पाँच सय जनालाई परिवार तथा समाजमा पुनःस्थापना गरिएको छ। यो उपलब्धिले दुव्र्यसनबाट प्रभावित व्यक्तिको जीवन सुधार तथा सामाजिक पुनःस्थापनामा केन्द्रको योगदान देखाउँछ ।
दसैँजस्ता चाडपर्वले उपचारार्थीमा आत्मविश्वास, आशा र नयाँ जीवनप्रतिको सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने केन्द्रको विश्वास छ। टीका तथा जमरा ग्रहण कार्यक्रमले परिवारबाट टाढा रहेका उपचारार्थीलाई आत्मीयता र अपनत्वको अनुभूति गराएको छ ।
नयाँ पाइला पुनःस्थापना केन्द्रले दुव्र्यसन न्यूनीकरणका साथै उपचारपछि पुनःस्थापित भएका व्यक्तिलाई समाज सुधारका अभियानमा सहभागी हुन प्रेरित गर्दै आएको छ ।


























