२०८३ कार्तिक २० गते शुक्रवार

पत्रकारितासँगै उद्यमशीलताको बाटोमा निता चौधरी


तुलसीपुर । पत्रकार निता चौधरीले पत्रकारितासँगै उद्यमशीलताको नयाँ यात्रा सुरु गर्नुभएको छ । विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय चौधरीले तुलसीपुर–५ नामीनगरस्थित आफ्नै घरमा बुटिक एण्ड टेलरिङ सेन्टर सञ्चालनमा ल्याउनुभएको छ ।

एउटै पेसामा सीमित नरही आफ्नै सीप, क्षमता र लगानीमार्फत आर्थिक आत्मनिर्भर बन्ने उद्देश्यले व्यवसाय सुरु गरेको उहाँले बताउनुभयो । रेडियो प्रकृति एफएम लगायत विभिन्न सञ्चारमाध्यममा आबद्ध रहेर पत्रकारितामा सक्रिय चौधरीले नयाँ व्यवसायमार्फत महिलालाई आवश्यक पर्ने विभिन्न प्रकारका कपडा सिलाउने तथा तयारी कपडा सुपथ मूल्यमा उपलब्ध गराउने योजना बनाउनुभएको छ ।

पत्रकारिताले समाज र नागरिकका समस्या बुझ्ने अवसर दिएको उल्लेख गर्दै उहाँले उद्यमशीलताले आफूलाई नयाँ अनुभव र सम्भावनासँग जोड्ने विश्वास व्यक्त गर्नुभयो । पत्रकारितासँगै व्यवसायलाई पनि समय व्यवस्थापन गरेर अघि बढाउने उहाँको योजना छ ।

स्थानीयस्तरमै गुणस्तरीय सेवा प्रदान गरी ग्राहकको विश्वास जित्ने लक्ष्य राख्नुभएकी चौधरीले व्यवसायलाई सफल बनाउन सबैको साथ, सहयोग र हौसलाको अपेक्षा गर्नुभएको छ ।

बुटिक एण्ड टेलरिङ सेन्टरको उद्घाटन तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेशराज राजभण्डारी, तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्य यमुना परियार र बुटिक प्रशिक्षक रविना चौधरीले संयुक्त रूपमा गर्नुभएको हो । कार्यक्रमको सञ्चालन पत्रकार श्री चौधरीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस