दाङ । दाङमा लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा छुट्टाछुट्टै स्थानमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१६ सुन्दरनगर टोलका ३३ वर्षीय सुनिल थापा, घोराही उपमहानगरपालिका–१५ सहिद गेटका २४ वर्षीय प्रजल श्रेष्ठ र बबई गाउँपालिका–४ हापुरे दुर्गाटोलका २५ वर्षीय विनोद सुनार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सुनिल थापाको घरमा खानतलासी गर्दा १९ ग्राम २१० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ, नगद ४९ हजार रुपैयाँ र एक थान मोबाइल बरामद भएको छ ।
त्यस्तै प्रजल श्रेष्ठको साथबाट २ ग्राम २६० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ, नगद ३ हजार २५० रुपैयाँ र दुई थान मोबाइल बरामद गरिएको छ । यसैगरी विनोद सुनारको साथबाट ९ ग्राम ७१० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ, एक थान डिजिटल तराजु र एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
तीनै जनाको साथबाट कुल ३१ ग्राम १८० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ र ५२ हजार २५० रुपैयाँ नगद बरामद भएको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक श्रीकुमार पौडेलले जानकारी दिनुभएको छ ।


























