दाङ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने औपचारिक भ्रमणका लागि आज नयाँदिल्ली जान लाग्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उहाँ नयाँदिल्ली जान लाग्नुभएको हो ।
प्रधानमन्त्री बनेपछि बालेनको यो पहिलो विदेश राजकीय भ्रमण हो । उहाँ आज दिउँसो पौने २ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्ययवसायी र पत्रकारसहित ३४ सदस्य छन् ।
निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ । प्रधानमन्त्री बालेन भारतीय समय अनुसार आज अपराह्न ३ :४५ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुनेछ ।
प्रधानमन्त्री बालेनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गर्ने नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रवक्ता अम्बिका जोशीले जानकारी दिनुभयो ।
विमानस्थलबाट उहाँ सिधै होटल ताजमहलमा जानुहुनेछ । सोही होटलमा आज साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री बालेनसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
मंसिर ७ गते शाहको उच्चस्तरीय भेटघाटको कार्यक्रम छ । उहाँले भारतीय समय अनुसार बिहान १० बजे नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नुहुनेछ ।
त्यसपछि भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । त्यसक्रममा शाह र मोदीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारी समेत छ ।


























