२०८३ मङ्सिर ७ गते सोमवार

दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा


बहुप्रतिक्षित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा ‘मुकाम’ राखेर तयारी समितिका बैठकहरू चलिरहेका छन् ।

दशौँ राष्ट्रिय खेलकुदलाई भव्यतापूर्वक सफल बनाउन सिङ्गो कर्णाली प्रदेश सरकार व्यवस्थापनमा जुटेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही विभिन्न बैठकमा सहभागी हुने, छलफल गर्ने र प्रतियोगितालाई व्यवस्थित बनाउने ध्याउन्नमा केन्द्रित भएका छन् ।

प्रतियोगिताको मिति नजिकिएसँगै सुर्खेत आउने अतिथि, खेलाडी, प्रशिक्षक, अफिसियल, दर्शकलगायत खेलप्रेमीको स्वागतार्थ विभिन्न स्थानमा स्वागतद्वार निर्माण गर्न थालिएको छ। वीरेन्द्रनगरका बजार क्षेत्रमा दशौँ राष्ट्रिय खेलकुदको प्रचारप्रसारका लागि माइकिङ भइरहेको छ ।

घरेलु खेलकुद सबैभन्दा ठूलो प्रतियोगिताको औपचारिक उद्घाटन यही मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुने तय भए पनि मुख्य खेलहरू यही मङ्सिर ८ गतेदेखि सुरु हुँदैछन् ।

यतिबेला खेलकुदको ‘महाकुम्भ’ दशौँ राष्ट्रिय खेलकुदको व्यग्र प्रतीक्षा सुरु भएको छ। राष्ट्रिय खेलकुद नवौँ संस्करण यसअघि २०७९ साल कात्तिकमा गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको थियो ।

प्रतियोगिता नजिकिएसँगै विदेशमा रहेका खेडाली स्वदेश फर्कन थालेका छन्। कतिपय खेलाडी बन्द प्रक्षिणमा जुटिसकेका छन् । दशौँ राष्ट्रिय खेलकुदमा ३२ खेलका ३८४ इभेन्ट्स समावेश छन् । प्रतियोगिताका खेल सात जिल्लामा सञ्चालन हुनेछन्।

सुर्खेतमा मात्रै २३ खेल आयोजना हुनेछन् भने लुम्बिनी प्रदेशको नेपालगन्ज र बर्दिया तथा कर्णालीको सल्यानमा समान दुई तथा दैलेख, कालीकोट र पश्चिम रुकुममा समान एक खेल हुनेछन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस