दाङ । तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर ७ र १२ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा नाप नक्साको काम सुरु हुने भएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै वडा नम्बर ७ र १२ मा स्थानीय तहबाट पहिचान तथा छनोट गरिएका सरकारी जग्गाको नाप नक्सा गर्ने काम आगामी मंसिर १६ गतेदेखि पुनः सुरु हुने जनाएको हो ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलनसम्बन्धी कार्यविधि २०८३ को दफा १३ को उपदफा ४ अनुसार भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि नाप नक्साको काम अघि बढाउन लागेको हो ।
उपमहानगरपालिकाका अनुसार वडा नम्बर ७ र १२ मा स्थानीय तहले पहिचान तथा छनोट गरेका सरकारी जग्गाको नाप नक्सा गरिनेछ। नापी टोलीले काम सुरु गर्ने भएकाले सम्बन्धित व्यक्तिहरूले नापी हुने समयमा आफ्नो नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, उपलब्ध अन्य प्रमाण तथा निवेदन दर्ताको निस्सा लिएर उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ ।
त्यस्तै, आफूले आबाद कमोत गरेको जग्गाको साँध सिमाना घुमी देखाई नापी गराउनुपर्ने जनाइएको छ । नापी हुने विषयमा थप जानकारी आवश्यक परेमा सम्बन्धित टोली मुकाममा आई बुझ्न सकिने उपमहानगरपालिकाले जनाएको छ ।
वडा नम्बर ७ का लागि नापी प्राविधिक टोलीमा निराजन घर्ती मगर र गोपाल केसी सम्पर्क सदस्यका रूपमा तोकिएका छन् भने वडा नम्बर १२ का लागि अक्षय कुमार चन्द, अशोक केसी र शशिला वली सम्पर्क टोलीमा रहेका छन् ।
उपमहानगरपालिकाले सम्बन्धित वडाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई नाप नक्साको काममा आवश्यक कागजातसहित उपस्थित हुन आग्रह गरेको छ ।


























