२०८३ मङ्सिर १० गते बिहिवार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सार्वजनिक बिदा र अतिरिक्त समयमा पनि सबै सेवा दिने


दाङ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सार्वजनिक बिदाका दिन र कार्यालय समयबाहेकको अतिरिक्त समयमा समेत अस्पतालका सबै सेवा प्रवाह गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानले पारित गरेको ‘विशिष्टीकृत तथा विशेषज्ञ स्वास्थ्य सेवा, सशुल्क सामान्य स्वास्थ्य परीक्षण प्याकेज र विस्तारित स्वास्थ्य सेवा सञ्चालन कार्यविधि, २०८३’ अनुसार सेवा सुरु गर्न लागिएको प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिनुभयो ।

भौगोलिक विशिष्टताका कारण सर्वसाधारणको स्वास्थ्य सेवाको आवश्यकता र अधिकार, प्रतिष्ठानलाई आत्मनिर्भर बनाउने योजना तथा कार्यरत चिकित्सक, नर्स, प्राविधिक र प्रशासनिक कर्मचारीको हितलाई ध्यानमा राखी कार्यकारी परिषद्को २०८३ असोज ७ गतेको बैठकले यस्तो निर्णय गरेको उहाँले बताउनुभयो ।

लम्सालका अनुसार शनिबार, आइतबार र अन्य घोषित सार्वजनिक बिदाका दिन बिहान ८ बजेदेखि तथा कार्यालय सञ्चालन हुने दिनमा अतिरिक्त समयअन्तर्गत बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ९ बजेसम्म विस्तारित स्वास्थ्य सेवा दिइनेछ । उक्त अवधिमा विशेषज्ञ ओपीडी, प्रयोगशाला, शल्यक्रिया र सामान्य स्वास्थ्य परीक्षणलगायतका सेवा उपलब्ध हुने उहाँले बताउनुभयो ।

प्रतिष्ठानको यो निर्णयबाट दाङसहित रोल्पा, रुकुम, सल्यान, प्यूठानलगायतका जिल्लाका सर्वसाधारणलाई स्वास्थ्य उपचारमा सहजता हुने बिश्वास गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस