दाङ, २२ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ ले बिहिबार सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । वडाले चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि हालसम्ममा गरेका कामको समिक्षासहित सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
त्यस अवसरमा वडाले करिब एक वर्षको अवधिमा गरेको सडक, कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका कामको प्रगति विवरण सार्वजनिक गरेको छ । वडाका सहायक कर्मचारी होमजंग विश्वकर्माले प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।
उहाँले वडाले जेष्ठ नागरिक, पूर्ण अपांगता भएका व्यक्तिहरु, सुत्केरी महिलाहरु र शबको पोष्टमार्टपछि एकतर्फी यातायातमा २४ सैँ घण्टा निशुल्क सेवा दिइरहेको बताउनुभयो ।
यस्तै पहाडी क्षेत्र ठाँटीगाउँमा सामुदायिक स्वास्थ्य एकाई स्थापना गरि ग्रामिण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरेको, सामाजिक सुरक्षा भत्ता नविकरण घरघरमा पुगेर गरिएको बताउनुभयो ।
कार्यक्रममा सहभागी नागरिकले सामाजिक सुरक्षा भत्ता गाउँघरमै पुर्याउन सहजीकरण गर्नुपर्ने, प्रहरी चौकी स्थापना गर्न वडाले पहल गर्नुपर्ने, योजना निर्माण कार्य पूरा भइसकेपछि भुक्तानी छिटो गरिनुपर्ने, देविस्थान जाने सडक अलपत्र रहेकाले तत्काल निर्माणमा पूर्णता दिन निर्माण व्यवसायीलाई खबरदारी गर्नुपर्ने, बजेटलाई एकिकृत योजनामा लगानी गरी देखिने गरि काम गर्नुपर्ने लगायतका सुझाव तथा गुनासा राखेका छन् ।
कार्यक्रममा वडा अध्यक्ष हुमकान्त सापकोटाले वडाको विकासमा नागरिकको चाहना र सुझाव अनुसार अघि बढेको बताउनुभयो । उहाँले वडामा सामाजिक सुरक्षाभत्तामा सहजताका लागि निरन्तर प्रयास गरेपनि बैंकले सुरक्षा जोखिम देखाउने गरेको बताउनुयो । यस्तै कार्यपालिका सदस्य गौरी नेपाली, वडा सदस्य ओवि वली केसी, मेघराज सोनी, शालिकराम खरालले सहभागीले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ दिनुभएको हो ।
कार्यक्रममा बिरेन्द्र मावि भ्यूडहर सुनपुरका प्रधानाध्यापक टोप बहादुर घर्ती, स्थानीय हरिप्रसाद भट्टराई, बिष्णुकुमारी ढकाल, चुडामनी ढकाल, जुद्धलाल पाण्डे, केशरी भुषाल, डम्बर थापा लगायतले प्रश्न तथा सुझाव राख्नुभएको हो ।
वडा नम्बर १ को आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण रेडियो हाम्रो पहुँचले गरेको हो । जेष्ठ नागरिक गेमप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलले गर्नुभएको हो ।














