२०८२ फाल्गुन २६ गते मङ्गलवार

हाम्रो पहुँचका ८० जना किसानलाई अनुदान वितरण

तुलसीपुर । हाम्रो पहुँच डेरीमा दूध बिक्री गर्ने किसानहरूलाई प्रतिफलमा आधारित अनुदान वितरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हाम्रो पहुँच डेरी उद्योगमा दूध बिक्री गर्ने ८० जना किसानहरूलाई प्रतिफलमा आधारित अनुदान वितरण गरिएको हो ।

शुक्रवार एक कार्यक्रमको आयोजना गरी डेरी विभाग संचालन उपसमितिका संयोजक दुर्गाप्रसाद जैसीको अध्यक्षता तथा तुलसीपुर–७ का वडा अध्यक्ष रामबहादुर जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष जिसीले स्थानीय उत्पादनलाई सहकारी संस्थामार्फत बजारसँग जोड्न सक्नु ठूलो उपलब्धि भएको बताउनुभयो ।

उहाँले दुध बिक्रि गर्ने किसानहरुको परीश्रमको मूल्याङकन गदै अनुदान दिएर उनीहरूलाई प्रोत्साहन गरेकोमा सहकारीलाई धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा बजेटले भ्याएसम्म किसान लक्षित बजेट छुट्याउने प्रतिबद्धता जनाउनुभयो ।

हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले सहकारी नाफामुखी मात्र नभई किसानमुखी बनिरहेको बताउनुभयो । उहाँले किसानहरुले उत्पादन गरेको दुधको सम्मान गर्दै पारदर्शी ढंगले प्रतिफलमा आधारित अनुदान वितरण गरेको बताउनुभयो । यो अनुदानले किसानमा आत्मविश्वास बढाउनुका साथै उत्पादनमा अझ प्रेरणा मिल्ने विश्वास ब्यक्त गर्नुभयो ।

स्थानिय किसानहरुले उत्पादन गरेको दुध हाम्रो पहुँच डेरीले खरिद गरेर स्थानिय बजारमै बिक्रि गर्ने गरेको उहाँको भनाई छ । उहाँले किसानहरुको साथ सहयोगले नै संस्था उचाइमा पुग्न सफल भएको बताउनुभयो ।

संस्थालाई अझ बलियो बनाउनको लागि किसानहरुले अझै दुधमा गुणस्तर ल्याउनुपर्ने बताउनुभयो । उहाँले संस्थाले प्रत्येक वर्ष वाषिर्कोत्सवको अवसरमा उत्कृष्ट किसानलाई सम्मान र पुरस्कृत गर्दै आएको बताउनुभयो ।

यसपटक वितरण गरिएको अनुदान लुम्बिनी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङमार्फत प्राप्त २ लाख ९९ हजार १ सय ५२ रुपैयाँ रहेको जानकारी दिनुभयो । सोही रकम डेरीमा दूध बिक्री गर्ने ८० जना किसानलाई वितरण गरिएको हो ।

प्रदेश सरकारले प्रतिलिटर २ रुपैयाँ अनुदान दिने भनेता पनि बजेट अभावले १ रुपैयाँ १६ पैसा मात्र दिएको उहाँको भनाई छ । यसमा स्थानीय सरकारले थप योगदान गर्न सके किसानहरूमा अझ उत्साह थपिने बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा पालिका सरकार र वडा सरकारलार्ई किसानमैत्री बजेट ल्याउन आग्रह गर्नुभयो ।

कार्यक्रममा संस्थाका सल्लाहकार ऋषिराम पौडेल, उपाध्यक्ष नामी कुमारी रेग्मी, संस्थाका सञ्चालक खेतु प्रसाद भण्डारी, डेरी विभाग सञ्चालन उपसमितिका सदस्य देवीराम भण्डारी, डेरीका विभागिय प्रमुख शिवलाल पौडेल, बचत तथा ऋण विभागका विभागिय प्रमुख दुर्गा प्रसाद भण्डारी लगायतको सहभागिता रहेको थियो ।

डेरी विभाग सञ्चालन उपसमितिका सदस्य गोविन्द प्रसाद भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस