सल्यान, १७ असार । हिजो साँझदेखि दाङ–सल्यान सडक पहिरोले अवरुद्ध छ । राप्ती राजमार्ग अन्तर्गत दुवै जिल्लाको सिमाना नजिकै सल्यान कपुरकोट गाउँपालिका–३ चोरखोलामा ठूलो पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।
सोमबार साँझ ६ बजेदेखि पहिरोका कारण सवारी आवागमन ठप्प बनेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बावुराम बस्नेतले जानकारी दिनुभयो । पहिरो निरन्तर खसेका कारण गएराती खुलाउन समस्या भएको थियो ।
अहिले बिहान ५ बजेदेखि जेसिबी लगाएर पहिरो हटाउने काम भइरहेको छ । पहिरोका कारण सडकबिचमै गाडीहरु रोकिएका छन् । ठुलो पहिरो झरेका कारण पहिरो हटाउन समय लाग्ने प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो ।
सडक सुचारु नभएसम्मका लागि यात्रु तथा सवारी चालकलाई आवतजावत नगर्न अनुरोध गरिएको छ । प्रहरीले सडक अवरुद्धका बेला अनावश्यक यात्राबाट जोगिन र पूर्णरुपमा सडक खुलाएपछि मात्र सुरक्षित यात्रा गर्न सबैलाई आग्रह गरेको छ ।















