२०८२ चैत्र १ गते आइतवार

सरकारले सुनचाँदीमा लगाएको करले उपभोक्ता र व्यवसायी दुबै मारमा

तुलसीपुर । नेकपा एमालेका नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले व्यवसायी प्रति सरकार गम्भिर बन्न नसकेको बताउनुभएको छ । सुनचाँदी व्यवसायी संघ तुलसीपुरले आयोजना गरेको सुनमा करको असरः उपभोक्ता मारमा, व्यापार संकटमा विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकारले व्यवसायी प्रति गम्भिर बन्न नसकेको बताउनुभएको हो ।

पछिल्लो समयले सरकारले सुनचाँदीमा २ प्रतिशत विलासिता कर लगाएर सुनचाँदी व्यवसाय माथी दमन गरेको बताउनुभयो । सरकारले नीति नियम बनाउदा व्यवसायमैत्री बनाउनुपर्नेमा उदारता नदेखाएको उहाँको भनाई छ । उहाँले व्यसाय क्षेत्र आर्थिक वृद्धिको मेरुदण्ड भएकाले करको नाममा व्यवसाय धरासायी बनाउने निर्णयहरू पुनरावलोकन गर्नुपर्ने बताउनुभयो ।

साथै उहाँले सुनचाँदी व्यवसायीलाई काठमाण्डौ केन्द्रित आन्दोन गर्न सुझाब दिनुभयो । आन्दोलनमा सम्पूर्ण व्यवसायीहरुले पनि साथ सहयोग गर्नुपर्ने उहाँको भनाई छ । मन्त्री केसीले अर्थमन्त्री बिष्णप्रसाद पौडेललाई यसबारेमा आफुले पनि आग्रह गर्ने र व्यवसायीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले सरकारले सुनचाँदीमा दुई प्रतिशत विलासीता कर लगाएर व्यवसायी र उपभोक्ता दुवैलाई मर्कामा पारेको बताउनुभयो । अर्थमन्त्री पौडेलले नेपाल ग्रे लिस्टमा नपरोस् भनेर सुनमा कर लगाएको भनेर सार्वजनिक गरेको कुरा आफैँमा भ्रमपूर्ण रहेको उहाँको भनाई छ । यो निजी व्यवसायीहरुलाई भ्रमित पार्नका लागि गरिएको उहाँले बताउनुभयो । अध्यक्ष केसीले यस्तै गरी कर बढाएमा अरु सामान किनमेल गर्न छिमेकी देश भारत गए जस्तै उपभोक्ताहरु भारत तर्फ जाने अवस्था सिर्जना हुने बताउनुभयो । यसले अर्थतन्त्र, रोजगारी र राजस्वमा असर पर्ने उहाँको भनाई छ । अध्यक्ष केसी व्यवसायीको आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै सरकारलाई दबाब दिन काठ्माण्डौ केन्द्रित आन्दोलन गर्न आग्रह गर्नुभयो ।

प्रमुख वक्ताका रुपमा रहनुभएका संवाद समुहका वरिष्ठ सहजकर्ता एवम अधिकारकर्मी सुशील बस्नेतले सुनचाँदी व्यवसायीहरुले पसल नै बन्द गरी सडक आन्दोलनमा उत्रनु परेको बारेमा आम उपभोक्तालाई जानकारी हुनुपर्ने बताउनुभयो । साथै उहाँले राजनीतिक दलका नेतृत्व, उद्योगी व्यापारीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कर्मश, परिसंघ लगायतको ऐक्यबद्धताका साथ उनीहरुको नेतत्ृवमा संवाद र वार्तामा सरकारलाई ल्याउने गरी आन्दोलनको रणनीति बनाउनुपर्ने सुझाब दिनुभयो ।

कार्यक्रममा अधिकारकर्मी केशव शर्मा, प्रेस स्वतन्त्रता सेनानी टीकाराम रेग्मी, तुलसीपुर चेम्वर अफ कमर्शका उपाध्यक्ष सन्तोष खडका,नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लालबहादुर केसी, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, नेपाल उद्योग तथा व्यवसायी संघ तुलसीपुरका अध्यक्ष पदम पोख्रेल,नेपाल उद्योग व्यापार संघका अध्यक्ष बेदप्रकास वली, तुलसीपुर सुनचादी व्यवसायी संघका सल्लाहकार जोगेन्द्र बिश्वकर्मा लगाएतकाले लगाएतकाले आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै सरकार जनमूखी हुन नसकेको बताएका थिए । गत जेठ १५ गते नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेट वक्तव्यमा सुनमा २ प्रतिशत र आभुषण तथा पत्थरमा १३ प्रतिशत भ्याट लगाउने नीति ल्याएपछि सुनचाँदी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघ र नेपाल सुनचाँदी व्यवसायी संघ घोराहीको संयुक्त आयोजनामा आज बुधबार ‘सुनमा करको असरः उपभोक्ता मारमा, व्यवसाय संकटमा’ विषयक अन्तरक्रिया कार्यक्रम भएको हो ।

तुलसीपुर दाङ सुनचाँदी व्यावसायी संघका अध्यक्ष हरिकृष्ण बिश्वकर्माको अध्यक्षता तथा पूर्व स्वास्थ्स्य राज्य मन्त्री हिराचन्द्र केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको बारेका नेपाल सुनचादी व्यावसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष धुव्रराज गहतराजले प्रकास पार्नु भएको हो ।

नेपाल सुनचाँदी व्यावसायी संघ घोराहीका अध्यक्ष बिनोद बिश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव तुलसीराम सुनारले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस