२०८२ फाल्गुन २६ गते मङ्गलवार

घोराही–तुलसीपुर फोर लेनको काम दसैँ लगत्तै सुरु हुने

दाङ, १० भदौ । घोराही–तुलसीपुर चार लेन सडकको काम दशैँपछि शुरु हुने भएको छ । भारतीय निर्माण कम्पनीले जिम्मा लिएर अधुरै छोडेको घोराही–तुलसीपुर फोर लेन सडकको निर्माण प्रक्रिया पुनः सुरु हुने भएको हो ।

यसअघि भारतीय कम्पनीलाई दिएको ठेक्का तोडेर नेपाल सरकारले नयाँ टेन्डर आह्वान गरी यस पटक नेपाली कम्पनीमार्फत सडक निर्माण प्रक्रिया अघि बढाएको हो ।

करिब दुई अर्ब ५३ करोड रुपैयाँमा सम्झौता भएको यस सडक स्तरोन्नतिको जिम्मा दिवा–वन्दन भगवती जेभीले पाएको छ । हाल निर्माण कम्पनी र सडक डिभिजन कार्यालयका प्राविधिकले संयुक्त सर्भे सुरु गरेका छन् । दसैँलगत्तै स्थलगत रूपमा निर्माण कार्य प्रारम्भ गर्ने तयारी गरिएको सर्भे प्राविधिक तिलक खड्काले बताउनुभयो ।

भौगोलिक अवस्था, पूर्वाधार र संरचनाको अवस्थालाई मूल्याङ्कन गरेर नयाँ डिजाइन तयार पारिनेछ । दसैँपछि स्थलगत रूपमा काम सुरु गर्ने योजना छ । मदन भण्डारी राजमार्ग आयोजना मार्फत निर्माण हुन लागेको यो सडकको लम्बाइ २१.५८ किलोमिटर रहनेछ ।

सहरी क्षेत्रमा ३० मिटर चौडाइ ९२० मिटर कालोपत्रे र दुवैतर्फ फुटपाथसहित र ग्रामीण क्षेत्रमा १५ मिटर चौडाइको सडक निर्माण गरिनेछ । सडकको बीचमा तीन मिटरको मेडियनसहित रेलिङ र वृक्षारोपणको व्यवस्था हुनेछ ।

यसअघि भारतीय एक्जिम बैङ्कको ऋण लगानीमा भारतको मुम्बईस्थित तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टलाई ठेक्का दिइएको थियो । तर कम्पनीले तोकिएको समयमा काम सम्पन्न गर्न नसक्दा ठेक्का रद्द गरिएको हो ।

लामो समयसम्म सडक जीर्ण अवस्थामा रहँदा दुर्घटनामा करिब तीन दर्जन मानिसले ज्यान गुमाएका थिए । नयाँ सम्झौताअनुसार २०८२ असार २४ गतेदेखि सुरु भएको निर्माण कार्य २०८५ असार २४ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ॥

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस