२०८२ फाल्गुन २६ गते मङ्गलवार

टरिगाउँ विमानस्थलमा अहिले सातामा तीन दिनमात्रै हवाई उडान

दाङ । दाङको टरिगाउँ विमानस्थलमा पछिल्लो समय हप्तामा तीन दिनमात्रै हवाई उडान हुन थालेको छ । टरिगाउँ विमानस्थलबाट अहिले हप्ताको तीन दिन बुधबार, बिहिबार र शुक्रबारमात्रै जहाजले उडान भरिरहेको विमानस्थल प्रमुख बल बहादुर सुनारले जानकारी दिनुभयो ।

उहाँका अनुसार टरिगाउँ विमानस्थलमा उडान भर्ने दुई वटा जहाजमध्ये एक वटा जहाज बिग्रेकाले अहिले हप्तामा तीन दिनमात्रै हवाई सेवा संचालनमा रहेको छ । दशैँअघि उडान तालिका परिवर्तन हुने संभावना कम रहेको प्रमुख सुनारले बताउनुभयो । तर अर्को जहाँज बनेपछि उडान हुने दिन थप हुन सक्ने उहाँको भनाई छ ।

साउनको १५ गतेअघि हप्तामा पाँच दिन उडान हुने गरेकोमा पछिल्लो समय हप्तामा तीन दिनमात्रै उडान हुने गरेको प्रमुख सुनारले बताउनुभयो । उहाँका अनुसार अहिले तुलसीपुरबाट काठ्माडौँका लागि ७ हजार ६४५ हवाई भाडा रहेको छ भने काठ्माडौदेखि तुलसीपुरका लागि ८ हजार ९७५ भाडादर कायम गरिएको छ ।

टरिगाउँ विमानस्थलबाट काठ्माडौ जाने यात्रुको चाप कम रहेको छ । टरिगाउँ विमानस्थलमा हवाई सेवा नियमित नहुँदा पनि जहाजले यात्रु पाउन मुस्किल हुने गरेको छ । कतिपय यात्रुले भने नेपालगञ्ज वा भैरहवाबाट हवाई सेवा लिने गरेको छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस