दाङ । तुलसीपुर होटल व्यवसायीले सहजरुपमा व्यवसाय गर्न पाउनुपर्ने माग राखेर स्थानीय सरकारलाई ध्यानाकर्षण गराएका छन् । होटल व्यवसायीले सरकारको नीति, नियमभित्र रहेर व्यवसाय गर्दा पनि प्रहरीले अनावश्यकरुपमा दुख दिएको भन्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्कालाई भेटेर व्यवसाय सहजरुपमा गर्ने वातावरण बनाउनका लागि ध्यानाकर्षण गराएका हुन् ।
तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतको नेतृत्वमा गएको टोलीले नगरप्रमुख खड्कालाई ध्यानाकर्षणपत्र बुझाएको हो । व्यवसायीले स्थानीय सरकारले सहजरुपमा व्यवसाय गर्ने वातावरण नबनाए होटल नै बन्द गरेर आन्दोलनमा उत्रने समेत बताएका छन् ।
अध्यक्ष बस्नेतले जिल्ला प्रशासन कार्यालय दाङको २०८० को पत्र अनुसार व्यवसाय ११ बजेसम्म संचालन गर्न पाउने नियम भएपनि तुलसीपुरमा नौ बजे नै प्रहरीले होटल व्यवसाय बन्द गराउँदै गएको भन्दै आपत्ति प्रकट गर्नुभयो ।
उहाँले प्रहरीले अनावश्यकरुपमा सिटी बजाएर ध्वनि प्रदुषण गरेको, होटलमा आएका ग्राहकलाई अनावश्यकरुपमा दुर्व्यवहार गरेको, होटल व्यवसायीलाई जघन्य अपराधीजस्तो गरेर हत्कडी लगाएर पक्राउ गरेको बताउनुभयो । होटल व्यवसायी समितिका केन्द्रिय सदस्य नेत्रलाल वलीले प्रहरीले होटल व्यवसायीमाथि अनावश्यक दुख दिने गरेको बताउनुभयो ।
उहाँले व्यवसायीमाथि सुरक्षा दिने प्रहरीबाट होटल व्यवसायी डराउने स्थिति सिर्जना भएको बताउनुभयो । उहाँले होटल व्यवसायीले गैरकानुनी काम गरेको कार्बाही प्रक्रियामा आफुहरुको समेत साथ रहने तर अनावश्यकरुपमा गरेको दुर्व्यवहार असह्य हुने बताउनुभयो ।
यसैबिच नगरप्रमुख टिकाराम खड्काले सोमबार(भोलि) बिहान ८ बजे नै सरोकारवालाको बैठक राखेर होटल व्यवसाय संचालनको नयाँ निर्णय गरिने प्रतिवद्धता जनाउनुभएको छ ।















