२०८२ फाल्गुन २६ गते मङ्गलवार

दाङमा निषेधाज्ञा जारी : निषेधित क्षेत्रमा सेना परिचालन

दाङ । जेनजीको आन्दोलनका कारण दाङमा मंगलबार साँझदेखि निषेधाज्ञा जारी छ । जिल्ला प्रशासन कार्यालय दाङले अनिश्चितकालिन निषेधाज्ञा आदेश जारी गरेको हो ।

दाङको प्रमुख बजार तुलसीपुर,घोराही, लमही र भालुवाङ क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताउनुभयो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ३ बमोजिम चार किल्ला तोकी सो सिमा भित्र कसैले आवतजावत गर्न कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने उल्लेख छ ।

तुलसीपुर उपमहानगरपालिका क्षेत्र भित्र पूर्वमा हात्तिखौवा, पश्चिममा कृष्ण मन्दिर, उत्तरमा आँखा अस्पताल र दक्षिण एअरपोर्टसम्म प्रतिबन्ध लगाएको छ ।

यस्तै घोराही उपमहानगरपालिका क्षेत्रमा झिगौरा चोक, प्रहरी बोर्डिङ स्कुलदेखि गोरखा बोर्डिङ स्कुल नजिकको कटुवा खोला पुल, मितेरी हस्पिटलदेखि रझेना स्कुलसम्म र ढोरेनी स्कुलदेखि सेवार खोलापुलसम्म प्रतिबन्ध लगाएको छ ।

लमही नगरपालिका क्षेत्रमा पूर्वमा अर्नवा, पश्चिममा अर्जुन खोला पुस्ता र दक्षिणमा कोलही पुलसम्म, राप्ती गाउँपालिका क्षेत्रमा प्रदेशसभा, मुख्यान्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको क्षेत्रमा प्रतिबन्ध लगाएको छ । यस्तै भालुबाङ बजार क्षेत्रभित्र, पश्चिममा गोपिनाल, पूर्वमा भालुवाङ पुलसम्म प्रतिबन्ध लगाइएको छ ।

निषेधाज्ञा आदेश जारी भएसंगै अहिले सेना परिचालन भएको छ । गएरातीदेखि सेनाले संभावित घटना हुन नदिन गस्ती गरिरहेको छ । कफ्र्युका कारण अहिले बजार सुनसान बनेका छन् ।

सडकमा सवारी साधन चलेका छैनन् भने बजार पनि बन्द छन् । सडक तथा बजारमा मानिसहरुको चहलपहलसमेत निकै कम रहेको छ । जेनजी अर्थात नयाँपुस्ताको आन्दोलन चर्किएपछि दाङमा पनि अनिश्चितकालिन कफ्र्यु आदेश जारी गरिएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस