२०८२ फाल्गुन २६ गते मङ्गलवार

प्रथम तुलसीपुर महोत्सवको तयारी पुरा : सभामुखले उद्घाटन गर्ने


दाङ । दाङको तुलसीपुरमा भोलिदेखि ‘प्रथम तुलसीपुर महोत्सव’ शुरु हुँदैछ । भोलिदेखि संचालन हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सव मूल आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले जनाएको छ ।

महोत्सव संचालनको लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लाल बहादुर केसीले जानकारी दिनुभयो ।

महोत्सवमा स्टेज निर्माणदेखि स्टल निर्माण लगायतका सम्पूर्ण कामको तयारी पूरा भएको छ ।

महोत्सवको उद्घाटन भोलि लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले गर्नुहुनेछ । महोत्सव उद्घाटनपूर्व तुलसीपुरको बसपार्कबाट भोलि बिहान ११ बजे झाँकीजुलस निकालिने संयोजक केसीले बताउनुभयो ।

महोत्सवमा यसपटक ‘लण्डन ब्रिजदेखि जलपरीसम्म’ दर्शकले अवलोकन गर्न पाउने उहाँले बताउनुभयो ।

उहाँले महोत्सवमा व्यवसायी तथा दर्शकको सुरक्षाका लागि करिब ५० बढी सुरक्षाकर्मी परिचालन गरिने र ड्रोनबाट समेत निगरानी गरिने बताउनुभयो ।

महोत्सवमा यसपटक होटलको स्टलसमेत फरक आकृतिमा राखिएको छ । स्थानीय उत्पादनलाई प्रर्वद्धर्न गर्ने उद्देश्यका साथ संचालन हुन थालेको महोत्सवमा युवाको बिजनेश आइडिया शेयरिङ कार्यक्रम समेत गरिने भएको छ ।

महोत्सवमा स्थानीय उत्पादनको प्रवद्र्धनका लागि ५० वटा स्टल किसानलाई निशुल्क प्रदान गरिने भएको छ भने उत्कृष्ट कारोबार गर्ने कृषकलाई पुरस्कृत समेत गरिने छ । यस्तै स्थानीय कलाकारलाई पनि प्राथमिकताका साथ स्थान दिने महोत्सव आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका महासचिव भद्र बहादुर वलीले बताउनुभयो ।

उहाँले महोत्सवमा ‘समृद्ध तुलसीपुर–मेरो दायित्व’ विषयमा वक्तृत्वकलासमेत राखिएको बताउनुभयो । वक्तृत्वकलामा २५ वर्ष मुनिकाहरु सहभागी हुन सक्ने महासचिव वलीले बताउनुभयो ।

यसैबिच महोत्सवको पूर्वसन्ध्यामा बिहिबार तुलसीपुर बजारको सरसफाई गरिएको छ ।

महोत्सव आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा तुलसीपुर बजारको सरसफाई गरिएको हो । सरसफाई अभियानमा विभिन्न संघसंस्था र तुलसीपुरका व्यवसायी तथा आम नागरिकको सहभागीता रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस