२०८२ माघ ८ गते बिहिवार

मानव सभ्यताको प्रारम्भिक उत्पति तुई उपत्यकाबाट भएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ मा पर्ने तुई उपत्यका मानव सभ्यताको प्रारम्भिक उत्पति र विकासको केन्द्र भएको तथ्यसहितको एक प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपाली अनुसन्धानकर्ताहरूले गरेको ‘साँस्कृतिक पुरातात्विक प्रारम्भिक सर्वेक्षण’ले प्रागैतिहासिक मानवहरूको बासस्थान रहेको पुष्टि गरेको हो ।

विगतमा विदेशी विद्वानहरूले दाङ र तुई उपत्यकामा पटक–पटक अध्ययन गरेतापनि नेपाली अनुसन्धानकर्ताहरू आफैँले नेतृत्व गरी तयार पारेको यो पहिलो अध्ययन प्रतिवेदन हो ।

सन् १९७८ मा रोबर्ट एम. वेस्टले गरेको चुरे पहाडको अध्ययन, सन् १९८२ देखि १९९२ सम्म गुडरन कर्भिनसले गरेको भौगर्भिक अध्ययन र सन् १९९५ सम्म रेन्डी हलेन्डले गरेको पुरातात्विक अनुसन्धानले तुई उपत्यका क्षेत्रको ऐतिहासिक महत्वलाई विश्वसामु चिनाएका प्रतिवेदनमा उल्लेख छ ।

रेन्डी हलेन्डको अध्ययनपछि लामो समयसम्म रोकिएको यो प्रक्रियालाई तुलसीपुर उपमहानगरपालिकाको विशेष चासो र प्राथमिकतामा पुनः अगाडि बढाइएको तुलसीपुर उपमहानगरपालिकाका पर्यटन तथा संस्कृति प्रवद्र्धन शाखा प्रमुख झरेन्द्र खरेलले बताउनुभयो ।

प्रारम्भिक प्रतिवेदन सोमबार सरोकारवालाको बिच सार्वजनिक गरिएको हो । सात दिनको स्थलगत भ्रमण र एक महिनाको गृहकार्यपछि तयार पारिएको यो प्रतिवेदनले तुई उपत्यकालाई मानव विकासको भूमिको रूपमा चित्रण गरेको छ ।

अध्ययन टोलीले गिधनिया, मझकटुवा र रनियापुर जस्ता महत्वपूर्ण गाउँहरूका साथै झाँक्री ढुंगा, जन्ति ढुंगा र सीता डेहरी जस्ता स्थलहरूको विस्तृत अवलोकन गरेको हो ।

यस्तै दक्षिणी पहाडमा अवस्थित जुम्लीकोट, विगुले ढुंगा र राजाकोटको समेत अनुसन्धान गरिएको छ । ती स्थानहरूमा ढुङ्गे युगमा प्रयोग हुने प्रस्तरका टुक्राहरू र माटाका भाँडाहरू फेला परेका छन् । जसले यो क्षेत्र प्राचिन मानवको मुख्य बासस्थान भएको प्रमाणित गरेको छ ।

प्रतिवेदनका अनुसार दाङ र तुई उपत्यका कुनै समय विशाल तलाउको रूपमा रहेको कुरालाई दक्षिणी चुरे श्रृङ्खलामा भेटिएका गोही, सर्प र माछाका अश्मिीभूत अवशेषहरूले पुष्टि गर्ने प्रमुख अनुसन्धानकर्ता प्राध्यापक डा. डिल्लीराज शर्माले बताउनुभयो ।

नेपालको चुरे श्रृङ्खला अन्य देशको तुलनामा बढी वनस्पति युक्त र कम भिरालो भएकाले पनि प्रारम्भिक मानवका लागि यो क्षेत्र निकै अनुकूल रहेको पाइएको छ । गुफाहरू र फेला परेका ढुङ्गे औजारहरूले प्रारम्भिक मानवको जीवनपद्धतिबारे महत्वपूर्ण जानकारी प्रदान गरेको उहाँले बताउनुभयो ।

व्यापक मानवीय अतिक्रमण र प्राकृतिक प्रकोपका कारण यस्ता बहुमूल्य ऐतिहासिक सामग्रीहरू दिनानुदिन लोप हुँदै गएकोमा अनुसन्धानकर्ताहरूले चिन्ता व्यक्त गरेका छन् । विश्वभरका विद्वानहरूको ध्यान खिच्न सफल यस उपत्यकाको ऐतिहासिक चिन्हहरू स्थानीय स्तरमा प्रचारप्रसारको अभाव, मानवीय अतिक्रमण र संरक्षणको कमीले गर्दा दिनानुदिन लोप हुँदै गएको अनुसन्धानकर्ता अशोक थारुले बताउनुभयो ।


उहाँले यस उपत्यकालाई प्रागैतिहासिक, ऐतिहासिक, पर्यावरणीय र शैक्षिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न एउटा बृहत् गुरुयोजना निर्माण गर्नुपर्ने बताउनुभयो । पाँच वर्षको स्पष्ट कार्ययोजना बनाएर अगाडि बढेमा मात्र तुई उपत्यकाको प्राचीन पहिचानलाई भावी पुस्ताका लागि सुरक्षित राख्न सकिने प्रतिवेदनको निष्कर्ष छ ।

नगरप्रमुख टिकाराम खड्काले वैज्ञानिकहरुले गरेको अनुसन्धानका आधारमा उपमहानगरपालिकाले अनुसन्धानको प्रारम्भिक विवरण सार्वजनिक गरेको बताउनुभयो । दुई जना अनुसन्धानकर्ताको आधारमा तयार पारिएको प्रारम्भिक प्रतिवेदन नयाँ पुस्ताका लागि खोज अनुसन्धानको दस्तावेज बन्ने उहाँको विश्वास छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस