दाङ । दाङ उपत्यकासहित तराईका जिल्लामा आज पनि बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ । हुस्सुसंगै चलेको शितलहरका कारण जनजीवन कष्टकर बनेको छ । माघको मध्य साता कटिसक्दा समेत बिहान र साँझको समयमा हुस्सु लाग्ने गरेको छ ।
दिउँसोको समयमा घाम लागेपनि साँझ बिहानको समयमा हुस्सु र कुहिरो लाग्दा दैनिक क्रियाकलापमा समस्या हुने गरेको छ । हुस्सु र कुहिरोका कारण बजारमा बिहान चहलपहल कम देखिएको छ भने सवारी साधन चलाउन समस्या हुने गरेको छ ।
बाक्लो हुस्सुका कारण सवारी साधन दुर्घटनाको जोखिम समेत हुने भएकाले सावधानपूर्वक सवारी साधन चलाउन ट्राफिक प्रहरीले अनुरोध समेत गरेको छ ।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तीर्थ भुषालले हुस्सु र कुहिरोले टाढाको वस्तु देखिन नसक्ने भएकाले सावधानीपूर्वक कम गतिमा सवारी साधन चलाउन आग्रह गर्नुभएको छ । उहाँले सकेसम्म अर्को सवारी साधनसंग दुरी कायम गरेर सवारी चलाउन आग्रह गर्नुभयो ।



















