दाङ । आधुनिकताको लहरसँगै पुर्खाले सिर्जना गरेका मौलिक लोकबाजाहरू लोप हुने अवस्थामा पुगेका छन् । लोकबाजा संकटमा पर्न थालेको भन्दै लोकबाजा संरक्षक सुशील गन्धर्वले नयाँ पुस्तालाई सचेत गराउने अभियान सुरु गर्नुभएको छ ।
उहाँले विभिन्न विद्यालयमै पुगेर विद्यार्थीहरूलाई लोकबाजाको महत्व, यसको पहिचान र संरक्षणबारे बुझाउन थाल्नुभएको हो । यसै क्रममा सोमबार तुलसीपुर–७ झुमरेमा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कुलमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा गन्धर्वले सारंगी, मादल, टेम्की र खैंजडी जस्ता बाजाहरूको प्रयोग र तिनको सांस्कृतिक मूल्यबारे प्रकाश पार्नुभयो ।

उहाँले लोकबाजाको लोप हुँदै गएको र बजाउनेहरुको पनि कमी हुँदै गएकाले देशव्यापीरुपमा बाजाको महत्व बुझाउँदै गएको उहाँले बताउनुभयो । उहाँले विद्यार्थीलाई सचेनामूलक गितसमेत सुनाउनुभएको थियो । विद्यालयका प्रधानाध्यापक शिब पुनको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण विकास रिजालले गर्नुभएको हो ।















