२०८२ फाल्गुन २६ गते मङ्गलवार

देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई साता लाग्ने


दाङ । देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइसके पनि समानुपातिकतर्फको नतिजा र थप प्रक्रियाका लागि समय लाग्ने भएको हो ।

प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ जारी मतगणनामा पनि अत्यधिक मत पाइरहेकाले बहुमतसहितको सरकार बनाउने स्पष्ट भइसकेको छ ।
प्रत्यक्षमा १६५ र समानुपातिकमा ११० गरेर २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउन १३८ सांसदको समर्थन चाहिन्छ । निर्वाचन आयोगले समानुपातिकतर्फको गणना मंगलबारसम्म सकिने जनाएको छ ।

समानुपातिकको गणना सकिएलगत्तै सिटको बाँडफाँट र उम्मेदवार निर्वाचित गर्ने प्रक्रिया सुरु गर्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो ।

आयोगले चैत पहिलो साताभित्र सबै परिणाम घोषणा गरेर समानुपातिकतर्फका निर्वाचित सांसदलाई प्रमाणपत्र दिइसक्ने लक्ष्य लिएको छ । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाइसकेपछि सरकार गठनका लागि बाटो खुल्ने बताउनुभयो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलका तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुनेछन् । तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका दल यकिन भएपछि मतपरिणाम विभाजन सूत्रअनुसार (प्रतिशतका आधारमा) दलले प्राप्त गर्ने सिट संख्या निर्धारण गरिने छ । यस पटक रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा ६ वटा दलले मात्र तीन प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाएर समानुपातिकतर्फ सिट पाउने देखिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस