२०८२ फाल्गुन २६ गते मङ्गलवार

सुविधासम्पन्न ‘शुभकामना एसी बस’ सञ्चालन

दाङ । तुलसीपुर यातायात प्रालिले यात्रुहरूको सुविधा र मागलाई मध्यनजर गर्दै नयाँ सुविधासम्पन्न ‘शुभकामना एसी बस’ थप गरी सेवा विस्तार गरेको छ । दाङ–काठमाडौं रात्रीकालीन सेवाका लागि प्रालिले करिब ४ करोडको लगानीमा चारवटा अत्याधुनिक बसहरू सञ्चालनमा ल्याएको हो ।

बस सेवाको मंगलबार औपचारिक उद्घाटन गरिएको छ । कार्यक्रममा प्रालिका उपाध्यक्ष धनसिंह केसीले पछिल्लो समय युवाहरू विदेश पलायन भइरहेको अवस्थामा स्वदेशमै स्वरोजगार सिर्जना गर्न र लगानी भित्र्याउन यस्ता प्रयास आवश्यक रहेको बताउनुभयो ।

उहाँले व्यवसायीहरूलाई यात्रुमैत्री वातावरण निर्माण गरी सुरक्षित र आरामदायी यात्रा सुनिश्चित गर्न निर्देशन समेत दिनुभयो । उपाध्यक्ष केसीले प्रालिद्वारा सञ्चालित गाडीहरूले यात्रुको सानोतिनो सामान ओसारपसार गर्दा कुनै शुल्क नलिन र सहयोग गर्न आग्रह गर्दै संस्थाको छवि उच्च राख्न व्यवसायीहरूलाई अपिल गर्नुभयो ।

प्रालिका प्रशासनिक सचिव निमकुमार श्रेष्ठका अनुसार स्लिपर सिट र ४९ सोफा सिटसहितका यी बसहरूले काठमाडौं रुटमा सेवा दिनेछन् । यसअघि कुइन, गोल्डेन, मयूर, तुलसीपुर र कल्की जस्ता स्तरीय एसी बसहरू सञ्चालन गर्दै आएको प्रालिले यात्रुहरूको बढ्दो चाहना अनुसार सेवा परिमार्जन गरेको हो ।

अर्का उपाध्यक्ष सोमप्रसाद पौडेलले अब बसले यात्रु खोज्ने नभई यात्रुले नै बस खोज्ने गरी गुणस्तरीय सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । समयको मागसँगै प्रालिले आधुनिक सुविधाहरू थप्दै लैजाने उहाँको भनाइ छ ।

नयाँ सञ्चालनमा आएका यी बसहरूको दाङ–काठमाडौं भाडादर १ हजार ८ सय ५० रुपैयाँ तोकिएको छ । व्यवसायी रमेश आचार्यले प्रति बस करिब १ करोड रुपैयाँको लागतमा यी बसहरू भित्र्याएको जानकारी दिनुभयो ।

उद्घाटन समारोहमा कोषाध्यक्ष छविलाल डाँगी, सदस्य मानबहादुर चौधरी, कार्यालय प्रमुख विमल गुप्ता, काउन्टर प्रशासनिक इन्चार्ज राजन योगी लगायतको उपस्थिति रहेको थियो ।

वि.सं. २०५६ सालमा स्थापित भई रूपान्तरित भएको तुलसीपुर यातायात प्रालिले हाल पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ठूला सहरहरू, छिमेकी राष्ट्र भारतका विभिन्न स्थान र गाउँ–गाउँसम्म आफ्नो यातायात सञ्जाल विस्तार गरिसकेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस