दाङ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले अर्धवार्षिक समीक्षा कार्यक्रम गरेको छ । तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको संस्थाले आज शनिबार एक कार्यक्रमको आयोजना गरी चालु आर्थिक वर्ष २०८२/८३ को प्रगति समीक्षा गरेको हो ।
संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा संस्थाले संचालन गरेका पाँच वटै विभागका व्यवस्थापकहरुले चालु वर्षको ६ महिनामा गरेका प्रगति विवरण प्रस्तुत गर्नु भएको हो । प्रस्तुत प्रगति समिक्षामा संस्थाले तय गरेको वार्षिक नीती कार्यक्रम अनुसार सबै सहकारी व्यवसायको उत्साहजनक प्रगति रहेको समिक्षा गरिएको थियो ।
संस्थाले आर्थिक वर्ष २०८२/८३ को निति कार्यक्रममा समावेश भएका योजनाहरुको लक्ष्य प्राप्ती तथा कार्यान्वयनको अवस्थाका बारेमा समिक्षा गरेको संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाको समग्र प्रगति, आगामी कार्ययोजना तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो । अध्यक्ष भण्डारीले सहकारीलाई सदस्य केन्द्रित, पारदर्शी र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बचत तथा ऋण विभागका विभागीय व्यवस्थापक रेखा शर्माले चालु आर्थिक वर्षको हालसम्मको बचत संकलन तथा ऋण लगानी सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । उहाँले सदस्यहरूको सहभागिता बढ्दै गएको, बचत संकलनमा उल्लेखनीय वृद्धि भएको तथा उत्पादनमुखी क्षेत्रमा ऋण प्रवाहलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो ।
यस्तै रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेनर बसन्त पौडेल, पेट्रोलपम्पका विभागिय व्यवस्थापक कृष्ण भण्डारी, हाम्रो पहुँच सेकेन्डरी स्कुलका प्रधानाध्यापक शिव पुन र डेरी विभागका विभागिय व्यवस्थापक शिवलाल पौडेलले आ–आफ्नो विभागको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
समिक्षामा चालुवर्षमा तोकिएका कामहरु अब बाँकी अवधिमा पुरा गर्न संस्थाका प्रमुख कार्यकारी अधिकृत डीआर भण्डारीले सबै विभागिय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । संस्थाले रेडियो हाम्रो पहुँच सहित, बचत तथा ऋण विभाग, पेट्रोलपम्प, हाम्रो पहुँच विद्यालय र डेरी विभाग संचालन गरेको छ ।
कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकारहरू तथा विभिन्न उपसमितिहरुको सहभागिता रहेको थियो । सहभागीहरूले सहकारीको सेवा विस्तार, सदस्य हित कार्यक्रम र वित्तीय सुदृढीकरणका विषयमा सुझाव राखेका थिए ।
संस्थाका महिला उपाध्यक्ष ममता बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको अर्धवार्षिक समिक्षा कार्यक्रमको सहजिकरण सचिव जीवराज अधिकारीले गर्नुभएको थियो ।














