२०८२ फाल्गुन २९ गते शुक्रवार

ग्यास अभावको हल्लापछि बढ्यो माग, अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह


दाङ । ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन नेपाल आयल निगमले आजदेखि बजारमा आधा सिलिन्डर अर्थात् ७ दशमलव १ किलो एलपी ग्यास बिक्री वितरण सुरु गरेको छ ।

मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वका कारण नेपालमा खाना पकाउने ग्यास अभाव हुनसक्ने हल्ला फैलिएपछि केही दिनयता बजारमा ग्यासको माग बढेको छ । उपभोक्ताहरूले आफूसँग भएका अतिरिक्त सिलिन्डरसमेत एकैपटक भर्न थालेपछि आपूर्ति व्यवस्थापनलाई सहज बनाउन प्रति सिलिन्डर ९ सय ५५ रुपैयाँमा आधा सिलिन्डर ग्यास बिक्री सुरु गरिएको ग्यास विक्रेता महासङ्घका केन्द्रीय उपाध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो ।

बजारमा ग्यास अभावको समस्या नभई उपभोक्तामा फैलिएको त्रासका कारण माग अस्वाभाविक रूपमा बढेको केसीले बताउनुभयो । नेपाल सरकार र नेपाल आयल निगमको निर्देशनअनुसार देशभरका ग्यास विक्रेताहरूले हाल आधा सिलिन्डरका दरले ग्यास बिक्री गरिरहेका छन् ।

आयल निगमको तथ्याङ्कअनुसार हाल ग्यासको आपूर्ति अवस्था सामान्य रहेको र केही दिनमै बजार अवस्था थप सहज हुने अपेक्षा गरिएको उपाध्यक्ष केसीले बताउनुभयो । विश्वका अन्य देशहरूको तुलनामा नेपालमा ग्यास खपत कम हुने भएकाले आपूर्ति व्यवस्थापनमा ठूलो समस्या नआउनेमा आफूहरू विश्वस्त रहेको उहाँको भनाइ छ ।

तुलसीपुर क्षेत्रको बजार अवस्था पनि सामान्य नै रहेको उहाँले जानकारी दिनुभयो । आइतबारसम्म बजार अवस्था पूर्ण रूपमा सहज हुने उहाँको भनाई छ । साथै उहाँले उपभोक्ताहरूलाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गर्नुभएको छ ।

ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन नेपाल आयल निगम, उद्योगी, व्यवसायी तथा विक्रेताहरू संयुक्त रूपमा सक्रिय रहेको पनि उहाँले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस